भक्तपुरको सल्लाघारीमा फेला पर्यो बालकको कंकाल

सुर्यबिनायक नगरपालिका- १० चितापोल स्थित सल्लाघारीको जंगलमा एक बालकको कंकाल फेला परेको छ । बुधवार विहानै अन्दाजी १४-१५ बर्ष जतिको लाग्ने मानव कंकाल खोल्सामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ बिहान अन्दाजी १० बजे महानगरीय प्रहरी वृत जगाती र अपराध महाशाखा टेकु काठमाण्डौबाट समेत प्रहरी अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगी कंकाललाई पोष्ट मार्टम तथा सनाखतको लागि त्रि.बि.शिक्षण अस्पताल फोरेन्सिक मेडिसिन बिभाग महाराजगञ्ज पठाएको जानकारी प्राप्त भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलका अनुसार उक्त कंकाल सोही ठेगाना बस्ने राजेन्द्र कार्कीको छोरा बर्ष १५ को रबिन कार्कीको हुनसक्ने आशंका गरिएको छ । गत मङ्सिर २७ गते बिहानदेखि घरबाट हराएका रबिनको कपडा कंकाल नजिक भएको कपडासंग मिलेकोले उक्त आशंका गरिएको हो । कंकाल नजिक भएको कपडा मेरो हराएको छोराको हो भनी रबिनका बाबु राजेन्द्र कार्कीले खुलाएको प्रहरी नायव उपरीक्षक पोखरेलले पुष्टि गरे ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए । घटनाको सत्यतथ्य छिट्टै पत्ता लाग्ने प्रहरीको दावी छ ।

Loading...