जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

धम्बोझी, ५ चैत , नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् ।  अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअ‍ोभरसियर  तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताउनुभयो ।

आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो ।

एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने  र एक घण्टाको रु ७५ पारिश्रमिक तोकिने छ ।  बीस बिघामा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रअ पोखरेलले बताउनुभयो । विद्यालयमा ६२  शिक्षक कर्मचारी छन् ।

“विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा साँस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौँ”, प्रअ पोखरेलले भन्नुभयो ।   टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ । आव २०७५। २०७६मा रु ५करोड बजेट रहेको विद्यालयमा रु दुई करोड नेपाल सरकारबाट र  तीन करोड विद्यालयको आन्तरिक शुल्कबाट  व्यहोरिने छ ।  सो विद्यालयमा आगामी वर्ष विज्ञान विषयको अध्ययनअध्यापन हुने छ ।

मधुवनका नेकपाका नेता सुरेश पन्थले सबैको मन जितेर विद्यालय यस क्षेत्रकै नमूना बनेको जिकिर गर्नुभयो ।

Loading...