दिक्क भएका बाबुरामले भने ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’

काठमाडौं, १३ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् । डा. भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको बताए ।

उनले नेकपा (माओवादी केन्द्र)सँग पनि एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । एकताबारेको प्रश्नमा उनले भने– प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन ।

डा भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताए ।

नयाँ शक्तिको केन्द्रीय समिति भंग

यसैबीच नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन भएको छ । केन्द्रीय समिति विघटन गरी नयाँ शक्तिले भट्टराईकै संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्का बैठकका गरिएका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा डा. भट्टराईले सो कुराको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संयोजक डा भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

बढीमा १५१ सदस्यीय महाधिवेशन आयोजक समितिमा रहने सदस्यको टुंगो लगाउने जिम्मा बैठकले संयोजक भट्टराईलाई दिएको छ । बैठकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विभिन्न १२ समसामयिक प्रस्ताव पारित गरेको छ ।

पारित प्रस्तावमा चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुवै देशलाई आह्वान गरेको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् अनिवार्य भएको ठहर गर्दै यी मुद्दाको पक्षमा रहेका शक्ति र दलहरूबीच बृहत्तर कार्यगत एकता कायम गरी राष्ट्रिय जनआन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

एनसेल लाभकरण प्रकरण, कर फछ्र्योट आयोगका निर्णयलगायतका विरुद्ध भ्रष्टचार विरोधी नागरिक सचेतना आन्दोलनका लागि बैठकले आह्वान गरेको छ ।

Loading...