काठमाडौँ, १३ साउन । राजधानीको एक विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन ।
क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कूलबाट बिहीबार विद्यालय समयपछि निस्किएका पाँच वर्षीय विशाल चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
उनका बुबा विजय चौधरी छुट्टी भएको केही मिनेटमै छोरालाई लिन विद्यालय आए पनि छोरालाई भेटाउनु भएन । छुट्टी हुनेबित्तिकै विद्यालयबाट बालक खुशीसाथ एक युवकले चलाएको स्कुटरमा बसेर गएको बताइए पनि त्यसबारे खुल्न सकेको छैन ।
महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । अहिलेसम्म कसैले फिरौतीका लागि फोन नगरेकाले बालक अपहरणमा परेको भन्न नसकिने उनको भनाइ छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले बालकका बुबाको पसलमा काम गर्ने एक युवकलाई पक्राउ गरे पनि ती युवकको संलग्नता अझै खुल्न नसकेको राठौरले जानकारी दिए ।