विमानस्थलको यात्रु बस्ने ठाउँमै एकैसाथ दुर्लभ १५०० कछुवा भेटिए

एजेन्सी । फिलिपिन्सको विमानस्थलमा तस्करहरूले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् ।

अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरू विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो ।

दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरूले छाडेर भागेको अधिकारीहरूको भनाई रहेको छ ।

अमेरिकाको विदेश विभागले दुर्लभ जीवजन्तु ओसार पसारका लागि फिलिपिन्स एउटा महत्वपूर्ण श्रोत र पारबहन केन्द्रको रूपमा रहेको जनाएको छ ।

हङ्कङ्गबाट आएका फिलिपिन्सका यात्रुको कपडा, झोला र जुत्ताले ढाकेको अवस्थामा ती कछुवाहरू आइतबार भेटिएका हुन् ।

बरामद गरिएको कछुवालाई वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तानन्तरण गरी घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको अधिकारीले बताएका छन् । विमानबाट जफत गरिएका कछुवाको मुल्य झण्डै ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।

यस्ता तस्करलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुने फिलिपिन्सको कानुनी व्यवस्था रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

Loading...