शुल्कबृद्धिको विरोधमा तालाबन्दी

संस्थागत विद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा झापाको शनिश्चरेका विद्यालयहरुमा तालावन्दी भएको छ । विभिन्न चार विद्यार्थी संगठनले झापाको शनिश्चरेमा रहेका विद्यालयहरुको लेखा र प्रशासन कार्यालयमा ताला लगाएका हुन् । 
 
शिक्षा सेवा करका नाममा मोरङ प्याब्सन समन्वय समिति ७ नम्बर इलाकाले शुल्कबृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । 
 
विद्यार्थीहरु एक साताअघिदेखि शुल्क वृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । बुधबार पथरीस्थित प्याब्सन समन्वय समितिमा समेत विद्यार्थीले तालाबन्दी गरेका थिए । उनीहरुले प्याब्सन समन्वय समिति मोरङ क्षेत्र नं ७ अन्तर्गतका एक दर्जन विद्यालयमा तालाबन्दी गरी विरोध गरेका हुन् । एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी, सङ्घीय समाजवादी पार्टी निकट अग्रगामी विद्यार्थी युनियन र किरात राई विद्यार्थी सङ्घ मोरङले शुल्क वृद्धिको विरोध गर्दै आएका छन् । 

ती संगठनहरुले प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको भए पनि विद्यार्थीको पठनपाठनमा भने कुनै अवरोध नभएको जनाएका छन् । साथै शुल्क वृद्धि फिर्ता नलिएसम्म विद्यार्थी सङ्गठनले ताला नखोल्ने जनाएका छन् । 

Loading...