स्टिङ अपरेशनमा अख्तियारका आयुक्त पाठकले थुरथुर काप्दै हात जोडेर यस्तो भने (स्टिङ अपरेटरसँग पाठकको रोचक वार्तालाप)

काठमाडाैं । भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सबैभन्दा भ्रष्टहरु रहेकाे बेलाबेलाका तथ्यहरुले पुष्टि गर्दै आएका छन् । पछिल्लाे समय आयाेगका आयुक्त राजनारायण पाठक प्रकरण आएपछि त याे झनै छरपष्ट भएकाे छ । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएका पाठकले कसरी घुस खाएका  थिए र पछि त्याे कुरा खुल्न थालेपछि उनी कसरी आत्तिएर प्रस्तुत भए भन्ने विभिन्न भिडियाे समेत बाहिर आएका छन् । यहाँ एक भिडियाेमा पाटक र उनकाे भ्रष्ट चरित्र सार्वजनिक गर्न स्टिङ अपरेशन गर्ने व्यक्तिबीचकाे संवाद साभार गरी प्रस्तुत गरिएकाे छ:

राजनारायण पाठकः अहिले जुन कुरा छ त्यो मेरो र जोगिन्दर झा (नाम परिवर्तन) बीचको कुरा हो। म फसेँ भने ऊ पनि फस्छ कि फस्दैन? लम्बोदर न्यौपानेलाई त मैले राम्रो होस्, अन्याय नहोस् भनेर हो। … न्यौपानेको विषयमा त मैले राम्रो गरेको हो। मैले भनिदिएको छु– १० जना अपराधी छुटुन, एउटा नि निरअपराधी नछुटोस्। मैले सोचेको थिइनँ, यस्तो होला भनेर सर। मैले त उपकारको दृष्टिकोणले गरेको हो। साला यस्तो टेन्सन छ नि, ८ महिनादेखि प्रेसर बढेर कति भइसक्यो तपाईंलाई थाहै छैन। प्रेसर बढेको बढ्यै छ।

स्टिङ अपरेटरः टेन्सन बढाउने काम किन गर्नुहुन्छ, भनेको काम गरिदिए भै हाल्यो नि।

राजनारायण पाठकः यता सुन्नुहोस्, तपाईं म पत्रकार सम्मेलन गराउँछु भन्नु हुन्छ। … तपाईंले कानूनी प्रावधान के छ भन्ने बुझ्नु भयो होला नि। न्यौपाने खासमा परिपक्व मान्छे रहेनछ। उसैले सबैलाई भन्दै हिँडेछ। त्यो इन्जिनियरिङ कलेजको मालिक छ नि, त्यसले कति पढेको छ?

स्टिङ अपरेटरः तपाईंसँग मैले कति वार्तालाप गरें। मैले जम्मा एउटा भिडियो लिएँ।

राजनारायण पाठकः अच्छा, अब त्यो झाको विषयमा पनि भन्छु नि सर। मैले त्यो यति गद्दार होला भनेर सोचेको पनि थिइनँ। यो जन्ममा मात्र होइन, अर्को जन्ममा पनि भगवानले टेन्सन दिन्छ। म डायबिटिज रोगी हुँ। मान्छेलाई टेन्सन हुन्छ। कँडेलले के भन्यो भन्नु न। खुट्टा समातेको कान समातेको, अडियो भिजुअल छ भन्नुभयो नि, त्यसमा के छ? तपाईंले मेरो गल्ती भयो भन्नु भयो नि, हो मेरो गल्ती भयो। जे हुनु भै हाल्यो।

त्यसकारण मैले पनि अब त डराउनु पर्यो। अब जे सुकै होस्। म त अख्तियारमा हुन्छु। कहिले काहीँ टोलीसँग हुन्छु। अरु के छ सर, म भेट्न आउँछु भन्नुभयो भनेपछि त म आउँछु। कहिले काहीँ तपाईंले माइन्ड के नगर्नुहोला कि म मोबाइलमा के भन्छु। मलाई त्यो म्यासेज गर्न आउँदैन। म जिन्दगीभर वकालत गरेको मान्छे। त्यो सेभ छ, नि म कसैलाई भन्छु मेरो सेभ गरिदेउ। म्यासेजमा मलाई जवाफ दिन आउँदैन।

तपाईंलाई भित्री कुरा भनौं। मेरो मोबाइल फोन अख्तियारकै सर्बिलियन्स (निगरानी) मा छ। त्यसबाट बच्न म मोबाइल स्वीच अफ गर्छु। तपाईंले कहिले भन्नुहुन्छ नि सर, मेरो फोन नै उठाइदिनु हुन्न भनेर। मैले फोन उठाइन भने बुझ्नु होला अहिले अफ छ। तपाईं मसँग भेट गरेरै कुराकानी गर्नुहोला।

अब जे भयो भयो। अब भविष्यको लागि म काम गर्छु। मेरो पिता आएर भन्नु भएको छ, छोरा कसैको एक टुक्रा सुपारी पनि नखानु। तपाईं मधेसको मान्छे सुपारी बुझ्नुहुन्छ नि। म तपाईंको ऋणी छु। म ऋण लिएर मर्दिनँ। अहिलेलाई केही न केही उपाय म गर्नेछु। मेरो विश्वास गर्नुहोस् र आजदेखि यो सब बन्द गर्नुहोस्। अहिले तपाईंले मलाई छोड्दिनुभयो भने म प्रमुख आयुक्त हुन्छु। ७५ प्रतिशत आश राख्नोस्। अहिले फोरम एक ढिक्का छ। त्यतिबेला तपाईंको पनि सहयोग चाहिन्छ। यतिबेला देशमा एउटा बलियो फिलिङ छ, झापाली सबै एकातिर छन्। माओवादी सब एकातिर छन्। मधेशी दल एकातिर छन्। म ढिलो भइरहेछु … । तपाईंको टर्चर भएन भने म प्रमुख आयुक्त बन्नेतिर केन्द्रित हुन पाउँछु। सबलाई म चाहिन्छ नि उनीहरू सबको मुद्दा मसँग छ। तपाईंसँग अहिलेसम्म मैले राम्ररी डिल गरिरहेको छु। तपाईंले पत्रकारहरुलाई भनिसक्नुभयो? यसको परिणाम तपाईंलाई थाहा छ? मिडियामा गए मेरो प्रचार मात्र हुन्छ अरु केही हुन सक्दैन।

अहिले हाम्रो सेट के भएको छ तपाईंले बुझ्नु भएको छ नि। … लम्बोदर न्यौपानेको स्थिति के छ? मेरो खुट्टा समाउन आएका थिए। तपाईंले मलाई बचाइ दिनोस्। यो पटक म प्रमुख आयुक्त हुन्नँ, अर्को पटक हुन्छु। यो तपाईं र मेरो मात्र कुरा भयो। त्यसपछि सुपारीको बदला म तपाईंलाई पान खुवाउँछु।

स्टिङ अपरेटरः ल ... ल भै हाल्यो।

राजनारायण पाठकः सानाठूला गल्ती त कति हुन्छ कति। तपाईंले कुरा बुझ्नु भएको छ।

Loading...