एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी १ जनाको मृत्यु

ललितपुर । नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार भएको बम विस्फोटमा परी गम्भीर घाइते रहेका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।

अज्ञात समूहले शुक्रबार राति करिब साढे ८ बजेतिर नख्खुस्थित एनसेल कार्यालयकाे गेटनेरै बम विस्फोट गराएकाे थियाे । साे घटनामा ३ जना घाइते भएकाेमा गुरुङकाे अवस्था गम्भीर थियाे ।

गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको ललितपुर प्रहरीले जनाएकाे छ । बम विस्फाेटमा परी घाइतेका अन्य दुईजना प्रतीक्षा खड्का र अनुषा डंगोलकाे पनि मेडिसिटीमै उपचार भइरहेको छ ।

बम बिस्फोटकाे घटनालगत्तै प्रहरी परिचालन भएकाे थियाे । सुरक्षागार्डलाई प्रयाेग गरी विस्फोट गराइएकाे हुनसक्ने आशंकामा अनुसन्धानका लागि साे कार्यालयमा कार्यरत २ जना गार्डलाई नियन्त्रणमा लिइएकाे छ ।

घटनामा उनीहरूको संलग्नता देखिएकाे प्रहरीकाे प्राम्भिक अनुन्धानका क्रममा थाहा हुन आएकाे प्रहरी स्राेतले जनाएकाे छ । अन्य केही व्यक्ति पनि पक्राउ परेकाे जनाइएकाे छ ।

सिसिटिभी फुटेज हेर्दा मोटरसाइकलमा आएका केही व्यक्तिहरू गएलगत्तै सुरक्षा गार्डले बम विस्फोट गराएकाे देखिएकाे बताइए पनि उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे छ । पक्राउ परेकाकाे नाम सार्वजनिक गरिएकाे छैन ।

शुक्रबार एकै रातमा दर्जनभन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी भएको छ । ललितपुरथित मुख्यालय बिस्फोट भएलगत्तै काठमाडौँ नजिकैको काभ्रेकाे कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

त्यस्तै शुक्रबार राति पाेखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरीकाे अनुसार टावर जलेर नष्ट भएको छ । उता रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।

त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आक्रमण भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । निरीक्षक रमेशदत्त अवस्थीका अनुसार आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।

यस्तै शुक्रबार राति नै बागलुङमा रहेका तीन एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो ।

यता पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । एनसेलकाे टावरमा कसले र किन विस्फाेट र आगजनी गर्याे भनेर अहिलेसम्म खुलेके छैन र अहिलेसम्म घटनाकाे जिम्मेवारी लिएकाे छैन ।

यसैबीच काठमाडौंको कमलपोखरीस्थित आँगन स्वीट्समा पनि शुक्रबार साँझ प्रेसर कुकर बम फेला परेको थियाे । कालो झोलामा राखिएको अवस्थामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

करछली गर्दै आएको एनसेलबिरुद्ध नेपाल कम्युनिष्टपार्टी निकट अखिल क्रान्तिकारी देशभर आन्दोलनमा छ । केहिदिन अघि मात्रै सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको थियो ।

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।

‘एक्जिएटाको प्रभावकारी नियन्त्रणमा रहेका कारणले लाभकरको दायित्व एनसेल र एक्जिएटाले बेहोर्नुपर्ने गरी फैसला भएको छ’ सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले भने । स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ७ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो।

अर्थमन्त्रालयले मंसिर २१ गते संसदको लेखा समितिलाई दिएको जानकारी अनुसार,एनसेल खरिदविक्रीमा नेपाल सराकरलाई एनसेलले ३८ अर्ब बढी कर तिर्न बाँकी छ । यसअघि उसले १५ प्रतिशत कर भने तिरिसकेको छ ।

टेलियाले एक्जिएटालाई सेयर बिक्रि गरेपनि एनसेलको कारोबार नेपालसँग सम्बन्धित रहेकाले एक्जिएटा वा एनसेलले नै पुँजीगत लाभकर नेपाल सरकारलाई तिर्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।

खरिदबिक्रि लगत्तै टेलिया सोनेराले एनसेलमार्फत लैजान खोजेको लाभांश रकम रोक्का राखेर त्यसैबाट कर उठाउने प्रयास सरकारले गरेपनि सकेको थिएन। यसअघि सर्वोच्च अदालतको आदेशकै कारण एनसेलले लाभाशं विदेश पुर्‍याएको थियो।

यसबीचमा सरकारले स्वीडेनमा रहेको टेलियासँग कुटनैतिक पहलमार्फत कर उठाउने प्रयास गरेपनि टेलिया आफ्नो करको दायित्व नरहेको भन्दै पन्छिएको थियो। द्वारिकाथ ढुंगेलले एनसेलबाटै पुँजीगत लाभ उठाउन भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिट जारी गर्दै सर्वोच्चले एनसेलबाटै कर उठाउन सरकारका नाममा परमादेश जारी गरेको हो।

एनसेलले नेपाललाई पुँजीगत लाभकर तिर्नुपर्दैन भन्दै सर्वोच्च गएको एनसेल र रिनोल्डस होल्डिङ्स लिमिटेडको तर्फबाट देवेन्द्र प्रसाद न्हुछेले दायर गरेको रिट भने सर्वोच्चले खारेज गरेको छ। यी दुवै तथ्य लुकाई सफाहात लिएर नआएको भन्दै सर्वोच्चले उनीहरूको रिट खारेज गरेको हो। रिनोल्ड्स लगायतका बीचका कम्पनी कागजीमात्रै भएको पनि सर्वोच्चको फैसलामा उल्लेख छ।

सरकारले एनसेलको कर निर्धारणका लागि ड्यु डेलिजेन्स अडिट गर्ने कम्पनी छनोट गर्ने प्रकृया सुरू गरेको छ।

Loading...