नेमकिपाले प्रतिरोधको चेतावनी दिएको पूर्वमन्त्री बस्नेतको खुलासा

भक्तपुर, ५ फागुन । वाईसीएलको चकचकी भएको बेला तत्कालिन नेकपा एमालेको युवा संगठन युथ फोर्सको अध्यक्ष भएर एकाएक चर्चामा आएका भक्तपुरका प्रतिनिधि सभा सदस्य महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को कारण आजित भएको बताएका छन । नेमकिपाले विकाशमा साथ् नदिएको आरोप लगाउदै उनले नेमकिपा अधिनायकबादी भएको अभिव्यक्ति समेत दिए ।

शनिवार जिल्लामा बग्ने हनुमन्ते नदीको सरसफाई अभियानको ५१ हप्ता पुगेको अवसरमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गर्ने कार्यक्रममा भक्तपुरको नगरपालिकाको क्षेत्रमा झन्डोत्तोलन गरे प्रतिरोध गर्ने भन्दै संदेश पठाएको खुलासा गर्दै उनले भक्तपुरले नेमकिपाकै कारण रास्ट्रिय संदेश दिन नसकेको समेत दावी गरे । उक्त झन्डोत्तोलन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले शनिवार सल्लाघारी चोकको बीच सडकमा गरेका थिए । जुन सूर्यविनायक नगरपालिकाको क्षेत्र भित्र पर्दछ ।

हनुमन्ते नदी भक्तपुर जिल्लाकै चासोको विषय हुनुपर्ने र दलगत स्वार्थ भन्दा माथि उठेर यसको संरक्षण गर्नुपर्ने उनको जिकिर थियो ।

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को ५८ औ वार्षिकोत्सवको अवसरमा रासस भक्तपुर सम्पर्क कार्यालयले ठिमीमा आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रमकामा बोल्दै सांसद बस्नेतले भने, ” जिल्लामा एउटा स्थानीय तहमा नेमकिपाले जितेको छ । उसले जे गरे पनि छुट छ । न राज्यले रोक्छ न त पत्रकारले लेख्छन ।”

उक्त कार्यक्रममा भक्तपुर नगरपालिका र नेपकिपा प्रतिनिधि अनुपस्थित भएकोले पूर्वमन्त्री समेत रहेका बस्नेतको आरोपको प्रत्युत्तर भने प्राप्त हुन् सकेन ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य शशिजंग थापाले पत्रकार पैसामा बिक्ने लक्ष्मी पत्रकार, चाडबाडमा मात्र सल्बलाउने सन्यासी पत्रकार र अरुको इसारामा चल्ने खेताला पत्रकार बन्न नहुने बताउदै विसुद्ध पेशागत पत्रकार भएर आफ्नो गरिमा बचाइराख्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले स्थानीय तहलाई बलियो बनाउन राससको भूमीका महत्वपूर्ण हुने बताएका थिए भने मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले सूचनाको भेरिफाइ गरेर मात्र समाचार बनाउनुपर्ने धारणा राखे ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले राससले प्रत्येक स्थानीय तहमा प्रतिनिधि राख्न सुझाव दिएका थिए ।

कार्यक्रममा राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले नयाँ ऐन आएपछि राससले नयाँ उडान भर्ने दावी गर्दै त्यसको लागि सहयोग गर्न अपील गरेका थिए भने महाप्रवन्धक ओपेन्द्र शर्माले रासस मिडियाको पनि मिडिया भएको जिकिर गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिसस भक्तपुरका उपप्रमुख, नगरका उपप्रमुख, बिभिन्न सरकारी निकायका प्रमुखहरु र जिल्लास्थित पत्रकारहरुले राससले पेशागत बिकाश गर्नुपर्ने र निस्पक्षतालाई मूलमन्त्र बनाएर खोजमूलक र बिकासबादी समाचार सस्प्रेषण गर्नुपर्ने धारणा राखेका थिए ।

Loading...