जाजरकोटको रिम्ना नजिक यात्रु बस भेरी नदीमा खस्यो, चालक हामफालेर भागे

जाजरकोट, २ फागुन । जाजरकोटको रिम्नामा यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमको राडी जाँदै गरेको बस जाजरकोटको सदरमुकाम हुँदै पिपे र रिम्नाको बीच जंगलमा पुगेपछि दुर्घटनामा परेको हो ।

साल र चिउरीका रुखहरु रहेको उक्त जंगल भेरी नदीको किनारमा पर्दछ । बस सडकबाट खसेर भेरी नदीमै पुगेको छ । दुर्घटनामा परेका पाँच जनालाई उद्धार गरिएको छ । काँक्रेविहार यातायात व्यवसायी संघको भे १ त १३२९ नम्बरको गाडी जाजरकोटको रिम्ना नजिकै रिङगाउटाको भीरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बेलुकी सात बजेतिर गाडी दुर्घटना भएका कारण घटनाको एकिन विवरण अझै आउन सकेको छैन ।

गाडी दुर्घटनामा परेर मृत्यु तथा घाईते हुने कसैको पनि सनाखत हुन सकेको छैन । दुर्घटनाका घाईतेहरुलाई उपचारको लागि जाजरकोट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा लगिएको छ ।

घटनास्थलमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । प्रतिकूल मौसम र रातीको समय भएको हुँदा उद्धार कार्यमा जटीलता पैदा भएको प्रहरीले जनाएको छ । बसमा कति जना यात्री थिए भन्ने कुरा एकीन हुन सकेको छैन । बसका चालक भने बस खस्दै गर्दा हामफालेर भागेको थाहा भएको छ ।

सदरमुकामबाट ओरालो झरेपछि भेटिने होलुखोला प्रहरी पोष्टमा उक्त गाडीले इन्ट्री गरेको थियो । उक्त प्रहरी पोष्ट गरिएको इन्ट्री वुकमा बसमा ११ जना यात्रु रहेको भेटिएको छ । त्यसभन्दा अगाडि रावतगाउँ र पिपेगाउँबाट पनि यात्रु चढेको बताइएको छ ।  जाजरकाेट जिल्लाका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको विस्तृत विवरण आइनसकेको बताए । 

 

 

Loading...