नेपालमा अत्याधुनिक प्रविधिबाट लागुऔषध कारोबार हुन थाल्यो, ड्रोनबाट कारोबार गर्ने पक्राउ

काठमाडौं, २४ माघ । लागुऔषध कारोबारीले नयाँ नयाँ प्रविधि प्रयोग गरेर आफ्नो चलखेल तीब्र पारेको खुलेको छ । शरिरका गोप्य अंगमा छिपाउनेदेखि अनेक फल्स बटन लगाएर लागुऔषध छिपाएर कारोबार गर्नेहरु अहिले पछिल्लो अत्याधुनिक प्रविधि ड्रोनसमेत प्रयोग गर्न थालेका छन् ।

नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेर लागुऔषधको कारोबार गर्ने एक व्यक्तिलाई प्रयोग गरेको छ । ड्रोनको प्रयोग गरेर ब्राउन सुगरको कारोबार गर्ने धरानका वितु भनिने जिनिश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गुरुङलाई उनकै कोठाबाट पक्राउ गरेको बताए । डिएसपी बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनले ड्रोनबाट विभिन्न स्थानको गतिविधि मोनिटर गरेर मात्रै ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको देखिएको छ ।’

प्रहरीले उनको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । साथै उनको कोठामा ब्राउन सुगर जोख्न प्रयोग हुने उपकरण पनि भेटिएको जनाएको छ । डिएसपी बोगटीले उनको साथबाट ३ ग्राम मात्रै ब्राउन सुगर भेटिए पनि उनी डिलर नै भएको बताए । उनी लागूऔषधका अन्य कारोबार गर्ने गिरोहसँग पनि सम्बन्धमा रहेको उनले दावी गरे ।

प्रहरीले उनको साथबाट केही ड्रोनबाट खिचिएको भिडियो फुटेजहरु पनि भेटाएको छ । उक्त ड्रोन भिडियो फुटेजमा आफ्नो घर वरीपरीका दृश्य, कुनै खोलाको आसपास टाढाटाढासम्मका दृश्य लिएको देखिएको छ । ती दृश्यका आधारमा प्रहरीमाथि निगरानी गरेर मात्रै उनले लागूऔषध बिक्री गर्ने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफू डिजिटल फोटो एडिटर भएको बताएर कोठा भाडामा लिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेसँगै उनले बिरामी भएको बताएका थिए । लगत्तै, प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको छ ।

Loading...