हिसान खेलकूद सप्ताहमा २५ बढी टोली सहभागी

काठमाडौँ, २३ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को संयोजन तथा हिसान काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा चौथो उपत्यकाव्यापी खेलकूद सप्ताह बिहीबारदेखि शुरु हुने भएको छ ।

खेलकुद सप्ताहका संयोजक रामहरि सिलवाललले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा गराइने जानकारी दिए । काठमाडौँका विभिन्न स्थानमा हुने प्रतियोगितामा उपत्यकाका विभिन्न २५ भन्दा बढी टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताअन्तर्गत माकलबारीमा हुने फुटसलको ब्वाइजमा २५ र गल्र्समा सात टोली सहभागी हुनेछन् । वसुन्धारास्थित ऋत एकेडेमीमा हुने बास्केटबलको ब्वाइजमा २५ र गल्र्समा आठ तथा नेशनल मावि, बालकुमारीमा हुने भलिबलको ब्वाइजमा १८ र गल्र्समा १० टोलीकोे सहभागिता रहने उहाँले जानकारी दिए ।

त्यसैगरी नयाँ बानेश्वरको प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ४० प्रतिस्पर्धीले भाग लिने बताइएको छ । टेबलटेनिसमा ब्वाइज÷गल्र्स सिङ्गल्स र डबल्स स्पर्धा समावेश छन् । प्रिमियरमै हुने टग अफ वारमा २२ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

खेलकूद सप्ताह सञ्चालनका लागि करीब रु १५ लाख खर्च हुने हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले जानकारी दिए । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नाराका साथ हुन लागेको खेलकूद सप्ताहकै दौरान कविता, वक्तृत्वकला र हाजिरी जवाफ पनि हुने आयोजकले जनाएको छ ।

Loading...