महासमिति बैठक अघि कांग्रेसमा देउवा-पौडेलबीच भनाभन

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिशोध लिने गरेर विवाद उत्पन्न गरेको आरोप लागेको छ ।

कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु हुँदै छ । महासमितिको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा देउवालाई वरिष्ठ नेता पौडेलबाट भएको आलोचना र आक्रमणको धेरैले विरोध गरेका छन् । बिहीबार बसेको कांग्रेसको बैठकमा देउवा र पौडेलबीच चर्काचर्की परेको थियो ।

पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार रहेको आरोप लगाए । त्यसपछि देउवाले सामूहिक नेतृत्वमा सबैले जिम्मेवारी लिन आग्रह गरेका थिए ।

सरकार, संसद् र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको भन्दै पौडेलले समग्र पक्षको पोस्टमार्टम गर्नुपर्ने बताएका थिए ।

पौडेलसँग मात्रै नभएर आफैंले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेकाहरूले समेत आलोचना गरेको भन्दै देउवाले आक्रोशित बनेको एक नेताले बताए । १३औँ महाधिवेशनमा पराजित भएका पौडेलसहितका अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र गगन थापा लगायतले आलोचना गरेको भन्दै देउवा रिसाएका हुन् ।

सिटौला, केसी र थापा गत १३ औं महाधिवेशनमा सभापति र महामन्त्रीका प्रत्याशी थिए । पराजित सबै पदाधिकारीलाई देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

चुनाव गराएको जस लिने तर पार्टीको शर्मनाक हार हुँदा पनि नैतिक जिम्मेवारी नलिने भन्दै पौडेलले देउवाको चर्को आलोचना गरेका थिए । उनले सभापतिलाई आफ्ना कमजोरी स्विकार्न आग्रह गरे ।

नेविसंघ, महिला संघ र तरुण दलमा पार्टी एकताका लागि आफूले त्याग गरेको पौडेलको भनाइ थियो । सभापति देउवाले त्यसलाई बुझ्न नसकेको पौडेलको गुनासो छ । नेविसंघलगायत अन्य संगठनको अधिवेशन गराउन नचाहेको आरोप पनि पौडेलले लगाए ।

सभापति देउवाले भने सबैभन्दा बढी त्याग आफैंले गरेको बताए । विरोध र असहयोगका कारण आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै बचाउ गरेका छन् ।

आफूविरुद्ध लाग्न नैतिक रूपमा नमिल्ने भन्दै सभापति देउवाले मनोनीत सदस्यहरूलाई चेतावनीसमेत दिएका थिए । ‘मैले नै मनोनीत गरेका सदस्यले मलाई नै गाली गर्ने ? नैतिक रूपमा मिल्ने कुरा हो ? गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’, देउवाले आक्रोश पोखे, ‘पञ्चायतकालमा झन्डा हल्लाउनेहरूले मेरो विरोध गर्ने ?’

गगन थापा र प्रदीप पौडेलले पार्टी हारबारे राजनीतिक प्रस्ताव र सांगठनिक प्रस्ताव कतै पनि उल्लेख नभएकामा आपत्ति जनाए ।

Loading...