वाइडबडी घोटाला प्रकरण छानविन अघि नबढे नागरिक आयोग गठन गर्ने चेतावनी

काठमाडाैं, १६ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायत १५१ बुँदे माग अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो ।

अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरु आइरहेको बताउँदै यसका बारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने, “वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन । असुरक्षा, हिंसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सीमा नाघेको स्थिति छ । यो बेलामा पनि हामी जनताहरुले स्वःस्फुर्त रुपमा अन्यायको विरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन । समाज दुर्गतिको बाटोमा जान्छ ।”

भण्डारीले बहुलजाति र धर्मको रुपमा रहेको मुलुकको शान्ति, एकता र भ्रातृत्वजस्ता विरासतहरु वर्तमान सरकारले धरापमा पार्ने काम गरेको गम्भिर आरोप लगाए ।

उनले भने, “२००७ सालदेखि आजसम्म जनताले ठूलो त्याग, तपस्या र जीवनको बलिदानी दिएका छन् । तर परिर्वतन भएन र विकास भएन । राजनीतिको मूल मर्म नै मरेको स्थिति छ ।”

०५२ सालमा तत्कालिन माओवादीले सुरु गरेको युद्धको बेलामा कब्जा गरिएको सम्पति फिर्ता गर्नुपर्ने, मदन भण्डारीका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने, वाइडबडी खरिदको बारेमा सशक्त छानविन आयोग बनाउनुपर्ने, असमान सन्धि–सम्झौताहरु खारेज गरी समयसापेक्ष विदेश नीति बनाउनुपर्ने, राष्ट्रिय उदार अर्थतन्त्र विकास गर्नुपर्ने आदि माग आफूहरुले अघि सारेको उनले बताए ।

कार्यक्रममा अभियानका अर्का अभियान्ता तथा अधिवक्ता बालकृष्ण नेउपानेले नेता र उनीहरुको आफन्तहरुको नाममा अकूत सम्पत्ति रहेको भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे । नेउपानेले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

अभियानले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “बलात्कारी, भ्रष्टाचारी र राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले कानुनको दायरामा ल्याई कारबाही गर्नसमेत चासो देखाएको छैन ।”

Loading...