नेपालबाट मधेश टुक्रा पारेर छुट्टै देश बनाउन लागेका सीके राउत पक्राउ

रौतहट, २१ असाेज । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ।

आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका समर्थकहरु गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै संख्यामा उपस्थित छन्।

यसैबीच राउतलार्इ छाेड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धर्ना बसेका राउतका समर्थक र प्रहरीबीच झडप भएकाे छ। बाटाे बन्द गरी धर्ना बसेका राउतका समर्थकलार्इ प्रहरीले हटाउन खाेज्दा झडप भएकाे हाे। राउतका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले समेत उनीहरुमाथि सामान्य लाठी चार्ज गरेकाे थियाे।

गठबन्धनका जिल्ला संयोजक अशोक सिंहको नेतृत्वमा रहेका समर्थकहरुले प्रहरीको विरोधमा चर्को नाराबाजी समेत गरेका छन्। सडक अवरुद्ध गरेको र प्रहरी विरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक सिंह, दीपेन्द्र झा, केन्द्रीय सदस्य वीरेन्द्र साह रहेका छन्। पक्राउ परेका विरुद्ध राज्य द्रोहको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी महेन्द्रप्रसाद मरासिनीले बताए।

Loading...