प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

काठमाडौं ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

यसअघि पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो । मिश्र दोस्रो नम्बरमा थिए ।

शैक्षिक प्रमाणपत्र र विवादास्पद फैसलाको विवादमा परेपछि जोशीको नाम नेपालको इतिहासमै पहिलोपटक संसदीय सुनुवाई समितिले अस्वीर गरेको थियो । मिश्रको नाम अब सुनुवाइ समितिमा पठाइनेछ । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

बैठकमा अख्यिार प्रमुख सिफारिसका विषयमा छलफल भएपनि निर्णय नभएको मन्त्री ढकालले जानकारी दिए ।

२०७५ भदौ ८ मा प्रकाशित ।

Loading...