चिस्याएर केरा पकाउने प्रविधि पहिलो पटक नेपालमा भित्र्याइयो

सामान्यतया तातोमा राखेर केरा पकाउने पुरानो परम्परा छ । विक्रीका लागि केरा पकाउन केमिकल हाल्ने गरेको आरोप पनि व्यवसायीहरूमाथि छ । दुबै प्रविधिलाई विस्थापित गर्न चिस्याएर केरा बनाउने प्रविधिको प्रयोग गर्न भएको छ ।

नेपालमै पहिलो पटक व्यवसायीक रूपमा केरा पकाउने प्रविधि नेपालकै सबैभन्दा ठूलो काठमाडौंको बल्खुस्थित फलफुल थोक बजारमा भित्र्याइएको हो । विन्दाबासिनी फ्रुट सेन्टरले ७५ लाख लगानीमा केरा चिस्यान (फ्रिज) को प्रयोगले केरा पकाउनेप्रविधि भित्र्याएको हो ।

यहाँ स्थापित ६ वटा बनाना रिपेनिङ च्याम्बरको सहायताले दैनिक दुई हजार क्यारेट अर्थात दुई लाख कोसा केरा पकाउन सक्छ । सफल प्रयोगपश्चात सेन्टरले च्याम्बरमा पकाएको केरा बजारमा पठाउन थालेको छ ।

केराको गुणस्तरप्रति ग्राहकको अविश्वासलाई कम गर्दै च्याम्बरबाट गुणस्तरिय केरा तयार हुन थालेकोमा कम्पनीका संचालक मख्ख छन् । “१० वर्षदेखि नेपालका चलेकै केही तारे होटलमा केरा बिक्री गर्दै आएको छु, तर होटेलका सेफ कहिले पनि सन्तुष्ट भएनन्,” कम्पनीका सञ्चालक अमर बानियाले भने, “एकनासले नपाक्ने, दाग देखिने केरा हुने भएकाले ग्राहकको गुनासो जायज जस्तो लाग्यो र विना दाग गुणस्तरिय केरा तयार हुने प्रविधि ल्याएका हौं ।”

फलफुल थोक विक्रेता संघका अध्यक्षसमते रहेका बानिया फलफूलको गुणस्तरीयता कायम गर्न प्रविधि प्रबद्र्धनका काम गर्दै आएका छन् ।

बल्खु फलफूल बजारमा मात्र कम्तिमा ९० ओटा केराका थोक पसल छन् । मागलाई मध्यनजर गरेर धुँवाको तापक्रम दिएर एक रातमा केरा पकाउने गरिएको छ । धुवाको तापक्रम ३० डिग्री भन्दा माथि हुने तर नियन्त्रण बाहिर हुने भएकाले केरा चाहे अनुसार तयार नहुने समस्या छ ।

ठूलो चिस्सायन घर भित्र काँचो केरा राखेर तापक्रम मिलाएर केरा पकाउदा भने कम्तिमा चार दिन लाग्ने गर्छ । काँचो केरालाई पहिलो दिन च्याम्बरमा २४ डिग्री सेल्सियस तापक्रममा राखिन्छ, चौबिस घण्टापछि तापक्रम २२ डिग्रीमा झारिन्छ भने तेस्रो दिन १६ डिग्रीमा झारे पुनः २४ घन्टा राख्ने राख्ने गरिएको छ । १६ मा राखेपछि बाहिरको तापक्रममा अर्थात् च्याम्बर बाहिर निकालेर राखेर केरा प्राकृतिकजस्तै पाक्ने गर्छ ।

केरा पकाउने यस्तो प्रविधिमा आधारित भएर एक सातामा केरा तयार हुने गरको विभिन्न अनलाइन स्रोतहरूमा रखेको पाइन्छ तर नेपालमा भने चार दिनमै तयार हुने गरेको छ । यस्तो प्रविधि प्रविधिको प्रयोग भारतमा गरिदै आइएको छ । बल्खुमा भित्र्याइएको प्रविधि पनि भारतको ब्लु स्टार कम्पनीको हो । बानिया केरा पकाउन सिक्नका लागि मात्र १५ दिन भारतको दिल्ली बसेका थिए ।

“गाउँघरमा बाकेको केराको जस्तो सुगन्ध र स्वाद च्याम्बरमा पकाएको केराको आउँछ,” बानिया भन्छन्, “सफा सुग्घर पनि हुने, मेहनत पनि कम लाग्ने र केमकिल विना विना दाग धब्बा केरा तयार हुन थालेपछि उपभोक्ता पनि खुशी भएको पाएको छु ।” उनले तयार गरेको प्रविधिले हाललाई बल्खु बजारको १० प्रतिशत हिस्सा मात्र ओगट्छ तर आफूहरूले सफल प्रयोग गरेको प्रविधि अन्य व्यवसायीलाई पनि भित्र्याउन प्रेरित गरिरहेको उनले बताए । च्याम्बरमा केरा बाहेकका सिजनमा अन्य फलफुल पनि भण्डारण गरेर मिल्ने उनले बताए ।

सरकारले कृषि वस्तु भन्डारण गर्न शीत भण्डारणमा कर छुट तथा अनुदानको समेत व्यवस्था गरको छ । तर, आफूहरूले कोसिस गर्दा पनि सरकारी छुट नपाएको गुनासो कम्पनीले गरेको छ ।

“कृषि विकास मन्त्रालयले भन्सार विभागलाई पत्र पठाएर सहजीकरण गरेको र भन्सारले पनि नेपालगंज नाकालाई भन्सार छुट दिन पत्र काटेको थियो,” बानिया भन्छन्, “नेपालगंजको भन्सार प्रमुखले छुट दिन नमिल्ने बताएपछि पुरै पैसा तिरेर ल्यायौं ।”

यस्तै खालको मेसिन भन्सारमा कैलालीमा एक पटक भित्र्याएको र त्यो नेपालगंजबाट नाकाबाट ल्याएको भन्दै सो नाका प्रयोग गर्न खोजेको उनले बताए । छुटमा मेसिन भित्र्याउन सके प्रविधि सस्तो हुने र गुणस्तरमा पनि सुधार हुने बताउदै उनले सरकारालई कारले सहजीकरण गर्न अनुरोध गरेका छन् ।

Loading...