इतिहास रच्न सफल नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत

काठमाडौं, ५ चैत ।

नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । 

टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ भावना घिमिरेलगायतका अरु व्यक्तित्वहरु तथा सयौंको संख्यामा प्रशंसकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले क्रिकेट टिमको प्रशंसा गर्दै नाराबाजीसमेत गरे ।

आईसीसी छनौटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो ।

विमानस्थलमा बोल्दै नेपाली टोलीका कप्तान पारस खड्काले ऐतिहासिक उपलब्धि संस्थागत गर्न क्यानको विवाद समाधान गर्नुका साथै घरेलु संरचना बलियो हुनुपर्ने बताए ।

यस्तै, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीको बलबुतामा प्राप्त उपलब्धि जोगाउन अब सबै सरोकारवाला पक्षहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एसोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एक दिवसीय मान्यता निश्चित गरेको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्यान्ड्ससँग ४५ रनले हारेपछि नेपाल प्रतियोगिताको आठौं स्थानमा सीमित बन्यो ।

सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को मान्यता पाएको नेपालले ३० वर्षको अवधिपछि अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो ।

Loading...