मन्त्री बनाउनुपर्ने भन्दै रेणु र राजेन्द्रले ‘बबण्डर’ मच्चाएपछि

काठमाडौं, ५ चैत।

प्रचण्ड गठबन्धनको केपी ओली सरकारमा सहभागी हुन अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्र मन्त्री पदका लागि बबण्डर सुरु भएको छ ।

मन्त्री पदका लागि समानुपातिक सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठले पार्टीभित्र बबण्डर मच्चाएपछि आन्तरिक कलहलाई साम्य पार्न अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । त्यो जुक्ति हो तत्काल सरकारमै सहभागी नहुने ।

अध्यक्ष यादवले अब प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधन र अन्य मुद्दाहरूका बारेमा छलफल गरेर मात्रै सरकारमा सहभागी हुने वा नहुनेबारे अर्को निर्णय गर्ने स्रोतले बताएको छ । आन्तरिक विवादले दिक्क बनाएपछि यादव सरकारमै नजाने मनसायमा पुगेका छन् ।

संघीय फोरमका लागि ओलीले स्वास्थ्य र सहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री दिने तयारी गरेकाे थियाे। जुन मन्त्रालय प्रधानमन्त्रीले खाली पनि राखेका छन् । तर, फोरमभित्रको आन्तरिक विवादले सरकारमा जानेबारे बाटाे बन्द हुने देखिएकाे छ । फोरमभित्रको आन्तरिक कलहले ओली समेत तनावमा परेको स्रोतले बतायो ।

तर अध्यक्ष यादवले भने आन्तरिक विवाद मिलाउन नयाँ कदम उठाएका छन् । यादवको नयाँ कदमले मन्त्री बन्न खुट्टा उचालेर बसेका समानुपातिक सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठलाई ठूलो धक्का लागेको छ । आफूहरूलाई मन्त्री नबनाउने हो भने संघीय फोरमले ठूलो दुर्घटना व्यहोर्नुपर्ने भन्दै रेणु र श्रेष्ठले चेतावनी दिइसकेका छन् । संघीय फोरमभित्र प्रत्यक्षमा निर्वाचितलाई पहिलो प्राथमिकता दिनेपर्ने बहुमत नेता र सांसदको जोड छ ।

आइतबार तीनकुनेस्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारीहरूको बैठकमा पनि समानुपातिक सांसदद्वय यादव र श्रेष्ठले कुनै पनि आफूहरू मन्त्री बन्नुपर्ने भनेर अध्यक्ष यादवलाई दवाव दिएको एक पदाधिकारीले जानकारी दिए । ‘रेणु यादव र राजेन्द्र श्रेष्ठजीले मन्त्री बन्नका लागि अध्यक्षलाई ठूलो दवाव दिनुभएको छ’, बैठकमा भएको छलफलका बारेमा जानकारी दिँदै एक पदाधिकारीले भने, ‘निर्वाचन जितेर आएका सांसदहरूले मन्त्री बन्न लबिङ गरे पनि रेणु यादव र राजेन्द्र श्रेष्ठले जस्तो बबण्डर गरेका छैनन् ।’

रेणुले आफू महिला भएको, पूर्वमन्त्री र मधेसी भएकाले मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको ती पदाधिकारीले बताए । श्रेष्ठले आफू राजधानीबासी, पार्टीको सहध्यक्ष र जनजाति भएका कारण मन्त्री पाउनुपर्ने तर्क गर्ने गरेका छन् ।

यसैबीच प्रदेश ५ मा आज सरकार विस्तार हुँदैछ । प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको हो ।

प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

एमालेले दुई मन्त्रीको टुंगो लगाएको छ । प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मन्त्रिपरिषद् कार्यालयले यसबारे केही बताएको छैन ।

त्यस्तै, माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराललाई मन्त्री बनाउने तयारी गरेको छ । बरालले सम्हाल्ने मन्त्रालयबारे औपचारिक टुंगो नलागे पनि उनले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेकाे बताइएकाे छ ।

यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

Loading...