विचारलार्इ बन्दुकले दबाउने केपी ओलीको सोच दिवास्वप्न मात्र : नेकपा

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा विशाल जनसभा सम्पन्न गरेकाे छ । पार्टीका महासचिव विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेपछि त्यसका विरुद्ध प्रदर्शन सहित जनसभा गरिएकाे नेकपा लुम्बिनी ब्यूराेले जनाएकाे छ ।

कपिलवस्तुकाे जितपुरमा अायाेजना गरिएकाे जनसभालार्इ नेकपाका पाेलिटब्यूराे सदस्य विरजंगले सम्वाेधन गरेका थिए । नेकपाकाे लुम्बिनी व्यूरो इन्चार्ज समेत रहेका नेता वीरजंगले सरकारले यसैगरी दमनपूर्ण रवैया अपनाए त्यसकाे सशक्त प्रतिराेध गर्ने बताए । साथै उनले विचारलाई दमन गर्ने कुचेष्टा गर्ने राज्यको नीति दिवास्वप्न मात्र भएको बताए ।

भ्रष्टाचारीहरुको अकुत सम्पत्ति सार्वजनिक गरी राष्ट्रियकरण गर्नुपर्ने बताउँदै उनले नेपालमा राजनीतिक क्रान्ति पूरा नहुँदै केही अात्मसमर्पणवादीहरुले बीचैमा बाटाे छाेडे पनि त्यसलार्इ अाफूहरुले निष्कर्षमा पुर्याएरै छाड्ने बताए । देशमा वाम गठबन्धनकाे बहुमत अाए पनि त्याे बहुमत भुसकाे अागाे मात्र रहेकाे र कुनै दिन पूरै खरानी मात्र देखिने उनकाे भनार्इ थियाे ।

सभालार्इ सम्वाेधन गर्दै पार्टीका अर्का केन्द्रीय सदस्य भेषराज भुसालले राज्यका सवै किसिमका दमन विरुद्ध पार्टीले सामना गर्न तयार रहेको बताए । कार्यक्रममा नेकपा अर्घाखाँचीका इन्चार्ज कमल केसी, उद्योग बाणिज्य संघ कपिलवस्तुका उपाध्यक्ष छवि रेश्मी मगर, मानवअधिकारकर्मी राम दयाल ठाकुर लगायतले बोलेका थिए । उक्त अवसरमा माओवादी केन्द्रका दुई जना जिल्ला सदस्य सहित २७ जना नेकपामा प्रवेश गरेका थिए । सेक्रेटरी सुनिलको सञ्चालन, संगमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...