माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन, फागुनमा पनि नयाँ सरकार नबन्ने सम्भावना

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन सरकारलाई प्रस्ताव गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन आयोगको प्रस्तावमिति घोषणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आयोगसँग गरेको परमार्शमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको उक्त मिति प्रस्ताव गरेका हुन् ।

आयोग सचिवालयले सरकारबाट मिति घोषणा भएको दिनबाट निर्वाचनको दिनसम्म ४० दिनसम्मको समय चाहिने आयोग पदाधिकारीसमक्ष कार्यतालिका प्रस्ताव गरेको थियो । सोही अनुसार यादवले सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले उक्त मितिमा सहमति जनाउँदै आगामी मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रिपरिषद् बैठक बिहीबार बस्नेछ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रधानमन्त्रीसँगको सरसल्लाह छलफलपछि माघ २५ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति भएको बताए । ‘त्यस सन्दर्भमा सरकारले आगामी क्याविनेटबाट निर्णय गर्ने कुरा भएको छ,’ उनले भने ‘अब आयोगले आफ्नो तयारी बढाउँछ ।’

वाम गठबन्धन सत्तामा जान आतुर रहेको बेला राष्ट्रियसभाको निर्वाचन नै एक महिनाभन्दा ढिलो हुने भएपछि नयाँ सरकार निर्माण फागुनभन्दा यता नहुने भएको छ ।

Loading...