के नेकपाले चुनावी बुथमा हमला गर्छ ?

नेपाल कम्युनिस्ट पार्टी यतिबेला चुनाव खारेजी अभियानमा छ । सरकार प्रदेश र संघीय प्रतिनिधि सभाकाे चुनावमा लागिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले देशभर चुनाव खारेज गर्न जनतालार्इ अाह्वान गर्दै हिडेकाे छ । नेकपाले किन चुनाव खारेज गर्न खाेजेकाे हाे भन्ने विषयमा प्यूठान जिल्ला इन्चार्ज चिन्तामणी घिमिरेसँग गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।

हिजाे सँगै युद्ध लडेका केही माअाेवादीहरु चुनावकाे दाैडमा छन तपार्इहरु भने त्यसकाे विरुद्धमा हुनुहुन्छ किन ?

याे चुनाव संसदीय चुनाव हाे । पुँजीवादी राज्यसत्तामा संसदीय व्यवस्था पूरै असफल भइसकेकाे छ । संसदीय व्यवस्थालार्इ ध्वस्त पारेर जनवादी व्यवस्था स्थापना गर्ने भनेर हामीले युद्ध लडेकाे हाे । तर, हिजो हामीसँगै लडेका साथीहरु आज त्यही संसदीय दलाल पुँजीवादी व्यवस्थालार्इ अंगालाे हाल्न पुगेका छन । साथी भनेर मात्र हुँदैन जब तपाई सँगै हिड्ने साथीले तपाईलाई धोका दिन्छ विश्वासघात गर्दछ भने त्यसलाई साथी भनेर अँगालो हलिरहनु आवश्यक पर्दैन । त्यसलाई उसको क्रियाकलाप अनुसार सजाय दिनुपर्दछ ।

माओवादी केन्द्रसँगको हाम्रो सङ्घर्ष, विचारधारा ,राजनीति, सिद्धान्त, दर्शन र आदर्शमा हो । उहाँहरुले कम्युनिस्ट विचार राजनीति, सिद्धान्त, दर्शन र आदर्श छोडेर पुँजीँवादी धारा समातेपछि संसदीय दलाल पुँजीवादी राज्यसत्तामा चुर्लुृम्म डुबेपछि हामीहरुले उहाँहरुसँग सम्बन्धविच्छेद गरेर क्रान्तिको बाटो समात्न पुगेका हौ । उहाँहरुले दलाल पुँजीवादी राज्यसत्तामा पूर्णरुपले आत्मसमर्पण गर्नुभएको छ र उहाँहरुमा कम्युनिष्ट आदर्श र मुल्यमान्यताहरु अब केही पनि छैनन् ।

तपाईहरुकाे पक्षमा पनि त्यति जनमत धेरै देखिएन त ? तपाइहरुले माेडल मानेकाे राेल्पाकाे थवाङमा पनि स्थानिय निकायको निर्वाचन सम्पन्न भयो नि ?

जनमत केलाई भन्न खोज्नु भएको हो ? जनमत मापन गर्ने मापदण्ड के हो ? के संसदीय दलाल पुँजीवादी राज्यसत्ता भित्र हुने चुनावमा प्राप्त मत र चुनावबाट प्रप्त सिट सङ्ख्याको आधारमा जनमत मापन गर्न खोज्नुभएको हो भने त्यसले त सिधै जनमतकै खिल्ली उडाउँछ । संसदीय व्यवस्था भित्र हुने चुनावहरु कति स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छन भन्ने कुरा विगतको निर्वाचनमा भएका क्रियाकलापले नै बताउँछन । त्यसबारे हामीले बोल्नै पर्दैन । देशमा नेकपाको पक्षमा जुन जनमत देखा परेको छ त्यसलाई अवमुल्यन गर्न मिल्दैन् । जनताले आफुमाथि भएको शोषण, दमन र उत्पीडनलाई क्रमश: बुझ्दैछन र नेकपाको झण्डामुनि विस्तारै गोलबन्द हुँदैछन् । अन्यायको विरुद्धमा आवाज उठाउन सक्ने भएका छन ।

२०७४ सालको वैशाख जेठमा भएको कथित स्थानिय निकायको चुनाव सुरक्षा निकायको घेरा भित्र भएको छ । जुन चुनावमा सुरक्षा संयन्त्रका सवै निकायहरु भरपुर रुपमा प्रयोग भएका छन । सेना, सशत्र, जनपथ र अनुसन्धान यी चार वटै संयत्रहरु पुरै परिचालन गरेर जनतामा एक प्रकारले सन्त्रास र आतंक सिर्जना गरेर जुन चुनाव संपन्न गरियो के त्यो राम्रो हो ? जनतालाई जर्वजस्ती मतदान गर्न जाने वातावरण सिर्जना गर्नु कति उचित थियो र छ ? यसकाे जवाफ संसदवादीहरुले दिन सक्छन् ? थवाङलाई जुन ढङ्गले अनावश्यक रुपले मिडियामा हल्ला गरियो, त्यो गलत थियो । कालिकोटको मालकोटले मिडियामा ठाउँ नपाउने तर थवाङलाई खोजीखोजी प्रचारबाजी गर्ने कुरा त्यति ठिक छैन ।

तपाईहरुले जनप्रतिनिधिहरुको लिस्टसहित कार्यालय प्रमुखको लिस्ट तयार गर्ने सर्कुलर गरेको, आर्थिक पहिचानको लिस्ट तयार गरेको भन्ने छ ? चन्दा उठाउने अभियान व्यापक पार्नु भएको हो ?

दलाल र भ्रष्टचारीहरु भन्या को को हुन ? जनताका दुश्मन र मित्र को को हुन ? यी कुरा छर्लङ्ग छ । यहाँ भ्रष्टाचारी र दलाल को को हुन भन्दै धुइपत्ताल खोज्दै लिस्ट बनाउदै हिड्न जरुरी छैन । अबको लडाई भनेको पुरानो र नयाँ राज्यसत्ताबीचको लडाइ हो । पाटीले जनताबाट चन्दा होइन, जनताले नै पाटीलाई आर्थिक सहयोग गर्दछन । हामीले कही पनि कसैसँग जवरजस्ती रुपमा सहयोग लिने गरेका छैनौँ ।

स्थानिय चुनाव खारेजीको अभियान, संविधान सभा बहिस्कार अभियान पनि असफल भयो अब कार्यक्रम कसरी सफल बनाउने योजना छ ?

कोही पनि संसदीय व्यवस्थाबाट सन्तुष्ट छैनन् । जनतामा संसदीय व्यवस्था र तिनका सञ्चालकप्रति अत्यन्त तीब्र घृणा र असन्तोष व्याप्त छ । दोस्रो संविधान सभा निर्वाचन बहिस्कार अभियानमा पार्टीले आफ्नो राजनीतिक उचाईलाई कायम गरेको हो । गत स्थानीय निकायको निर्वाचनमा पार्टीले आफ्नो राजनीतिक श्रेष्ठता हासिल गरेको छ ।

एउटा क्रान्तिकारी राजनैतिक शक्तिको निर्माण भएको छ र एउटा क्रान्तिकारी विचारको जनतामा प्रभाव परेको छ । अबको चुनावमा संसदीय राजनैतिक दलहरु र संसदीय व्यवस्थाको जनविरोधी चरित्रकाे भण्डाफोर गरिनेछ र खारेजी अभियानलाई सशक्त रुपमा अगाडि बढाइने छ ।

नागरिक स्तरमा हामीले बुझ्दा तपाईहरुले युद्ध नै गर्नुहुन्छ भन्ने अनुमान छ । साँच्चै बताइदिनुस् तपाईहरुले गर्न खोजेको के हो ?

हामीले गर्न खोजेको युद्ध होइन क्रान्ति हो । हामीले क्रान्ति मार्फत जनताको जनसत्ता स्थापना गर्न खोजेका छौ । यसमा यो सत्ताले जवरजस्ती गर्न खोजे प्रतिरोध गरिन्छ ।

एकीकृत जनक्रान्ति भन्दै संसदीय पार्टीले गर्ने जस्ता कालोमोसो दल्ने, चन्दा नदिएको भरमा गाडी जलाउने जस्ता कार्यक्रमले क्रान्ति हुन्छ ? यो खुलस्त भनिदिनु न ?

हामीले गर्ने कार्यक्रमहरु र संसदीय दलहरुले गर्ने कार्यक्रममा धेरै नै फरक छ । संसदीय दलहरुले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दल्न सकेका छन त ? अहँ ! उनीहरुले त्यसो गर्न सकेका छैनन् र गर्न पनि सक्दैनन् । उनीहरु त दलाल र भ्रष्टचारीसँग मिलोमत्तो गरी भागबन्डा मिलाउनतर्फ लाग्छन् । हामीलाई संसदीय दलहरुसँग तुलना गर्न उचित हुँदैन ।

गल्ती कमजोरी गर्नेहरुमाथि निगरानी गर्नु हामीहरुको दायित्व हो । हामीले आर्थिक सहयोगको नाममा कसैसँग वार्गेनिङ गरेका छैनौ । हामीले हाम्रो पार्टीको नीतिमा रहेर अगाडि बढिरहेका छौ । नेपालमा क्रान्ति सम्भव छ, हुन्छ र त्यसको पहलकदमी हामीले लिनुपर्छ ।

सर्वाहारा किसान मजदुरहरुले बुझ्ने भाषामा भनिदिनुहोस त कति वर्षमा परिवर्तन ल्याउनुहुन्छ ?

यति र उत वर्ष ठ्याकै गणितीय शुत्रमा भन्ने कुरा त भएन । ढिलो वा चाँडो क्रान्ति हुन्छ । क्रान्तिलाई सुदुर भविष्यको विषय बनाइनु हुँदैन । जनताको जनवादी सत्ता स्थापाना पश्चात जनताको जनजीवनमा परिवर्तन हुन्छ । जनवादी व्यवस्थामा मात्र जनताहरु अधिकारसम्पन्न हुन्छन् । वैज्ञानिक समाजवादले मात्र समाजमा शान्ति र समृिद्ध ल्याउँछ ।

तपाईको कार्यालयमा अहिले पनि दर्जनौ मुद्दा छन् भन्ने सुनिन्छ तर एउटा पनि फैसला गर्न सक्नु भएन क्वाडी साढेखोलाकै महिलाले तपाइको कार्यालय धाउन लागेको वर्षाै भइसक्यो कहिले फैसला गरेर न्याय दिनुहुन्छ ?

हो, हाम्रो कार्यालयमा जनताबाट आफु अन्यायमा परेका निवेदनहरु आएका छन । हामीले त्यसको विस्तृत र गहन अध्ययन गरेका छौ । हाम्रो जनसत्ता जनपरिषद नेपालले क्रमश: ती मुद्दाहरुलाई फैसला गर्नेछ । क्वाडी साढेखोलाको सम्वन्धमा बस्नेत परिवार अन्यायमा परेको छ । जनपरिषदले त्यो मुद्दाको बारेमा निर्णय गर्नेछ र पीडितलाई न्याय दिनेछ ।

यो चुनावमा तपाईहरुले के गर्नुहुन्छ प्रचारात्मक मात्र हुन्छ कि कतै बुथमै हमला नै गर्नुहुन्छ ?

हामीले यो चुनावमा प्रचारात्मक कार्यक्रम गर्छौ । संसदवादी राजनीतिक दलहरुको वर्ग चरित्र र संसदीय व्यवस्थाको जनविरोधी चरित्रको बारेमा जनताको विचमा भण्डाफोर गर्दछौ ।जनतालाई चुनाव खारेजी अभियानमा साथ दिन र सहभागी हुन अपिल गर्दछौ । यो संसदीय व्यवस्था जनताको व्यवस्था होइन र यो मुठ्ठीभर दलालहरुको हितको प्रतिनिधित्व व्यवस्था हो भन्ने कुरा जनतालाई प्रशिक्षित गर्दछौ । चुनाव खारेजी अभियानलाई सशक्त रुपमा अगाडि बढाउँछौ ।

तपार्इका केही थप कुरा छन कि

तपाईको मिडियाले हाम्रो पार्टीका धारणाहरु राख्ने मौका दिएकोमा मिडिया परिवारलाई धन्यावाद दिन्छौ । साथै यो मिडिया मार्फत सम्पूर्ण प्यूठानी जनताहरुलाई निर्वाचन खारेजी अभियानमा सहयोग गर्न र कथित संसदिय निर्वाचनमा मतदान नगर्नु हुन अनुरोध गर्दछु ।

Loading...