अमृत प्रधान स्मृति कप आजबाट सुरु

काठमाडौँ, २४ भदौ । अमृत प्रधान स्मृति कप फुटबल प्रतियोगिता आज शनिबारदेखि सुरु हुने भएको छ ।

अमृत साइन्स क्याम्पसका संस्थापक प्राचार्य अमृतप्रसाद प्रधानको स्मृतिमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइद्वारा आयोजना गर्न लागिएको प्रतियोगितामा उपत्यकाका विभिन्न्न १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने इकाइका सचिव समिरराज विष्टले जानकारी दिए ।

सानो गौचरनस्थित फुटबल मैदानमा शनिबार बिहानदेखि सुरु हुने प्रतियोगितामा हिमालयन कलेज, अमृत ए र बी, रत्नराज्य, केन्द्रीय क्याम्पस, नेपाल इन्जिनिरयरिङ, पाटन संयुक्त, त्रिचन्द्र, सगरमाथा, एनसिआइटी, नोबल, ताहाचल, पब्लिक युथलगायत १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्नेछन् ।

आउँदो असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु एक लाख एघार हजार १११, ट्रफी र द्वतीय हुनेले रु ५५ हजार ५५५ तथा ट्रफी प्राप्त गर्नेछ ।

असोज १ गते विज्ञान दिवस तथा क्याम्पस स्थापना दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल खेल खेलाइने कार्यक्रम संयोजक सुलभ तामाङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि आठ लाख खर्च हुने बताइएको छ ।

राष्ट्रिय लिग नभएको सन्दर्भमा यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने आयोजकको विश्वास छ ।

छ वर्षसम्म त्रिचन्द्र कलेजमा अध्यापन गराइसकेपछि छुट्टै विज्ञान कलेजको आवश्यकताको महसुस गरी २०१३ साल असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर प्रधानले पव्लिक साइन्स कलेजको स्थापना गरेका थिए ।

उनको स्मृतिमा अनेरास्ववियु अस्कल कमिटीले यसअघि पनि विभिन्न प्रतियोगिता गरिसकेको छ ।

Loading...