फाइनलमा पुगे सशस्त्र र यू डायमण्ड एकेडेमी

पोखरा, ८ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १९ लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी टिम फाइनलमा पुगेका छन् ।

नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा मंगलबारदेखि शुरु भएको सोे प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१६, २५–१९ र २५–१३ ले पराजित गरी फाइनलमा पुगेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी (एपिएफ) ले नेपाल पुलिस क्लबलाई २५–१०, २५–२१ र २५–२० ले पराजित गरी फाइनलमा पुगेको थियो ।

आज उपाधिका लागि न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीबीच फाइनल खेल हुने प्रचारप्रसार समितिका संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घबीच तेस्रो स्थानका लागि आज नै खेल हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमशः रु ७५ हजार १०१, ५० हजार १०१, २० हजार र १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा पाँचवटा टिमको सहभागिता रहेको थियो ।

Loading...