६ सय ९९ स्थानीय तह बैंक स्थापना भए

काठमाडौं, २९ पुस । ग्रामीण क्षेत्रमा वाणिज्य बैंकहरु विस्तार गर्ने अभियान अन्तर्गत ६ सय ९९ स्थानीय तहले बैंकिङ सेवा पाएका छन् । सरकारले गत असार मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरेको थियो। तर, अझै ५४ वटा स्थानीय निकायमा बैंक स्थापना हुन सकेका छैनन । 

डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार सय चार स्थानीय तहमा शाखा विस्तार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ। सरकारले गत आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउने लक्ष्य अघि सारेको थियो। त्यसबेला दुई सय ९५ स्थानीय तहमामात्र बैंक शाखा थिए। शाखा खोल्न निर्देशन दिइएका मध्ये कतिपय बैंकका धेरै र कतिपयका केही स्थानमा शाखा विस्तार गर्न बाँकी छ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बाँकी स्थानीय तहमा पनि बैंक पुर्‍याउन पहल भइरहेको जानकारी दिए। कृषि विकास बैंकले नौ स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ। नेपाल एसबीआई बैंकले आठ, बैंक अफ काठमाडौं र सेन्चुरी कमर्सियल बैंकले पाँच÷पाँच स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ।

एभरेस्ट, नेपाल क्रेडिट एन्ड कमर्स, माछापुच्छ्रे, प्रभु र कुमारी बैंकका तीन÷तीन स्थानीय तहमा शाखा विस्तार हुन बाँकी छ। राष्ट्रिय वाणिज्य बैंक र हिमालय बैंकले पनि तीन/तीन स्थानीय तहमा शाखा खोल्न बाँकी छ। राष्ट्रिय वाणिज्य बैंकले डोल्पाको दुई गाउँपालिका र मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाहेक सबै तहमा शाखा विस्तार गरिसकेको छ। हिमालय बैंकले बाजुराका तीन गाउँपालिकामा शाखा विस्तार गर्न बाँकी छ। हिमालय बैंकले बाजुराको छेडेदह, पाण्डव गुफा र स्वामीकार्तिक गाउँपालिकामा शाखा स्थापना गर्न लागेको छ।

सिभिल बैंक र नेपाल बैंकको दुई स्थानीय तहमा बैंक शाखा खोलेका छैनन्। नेपाल बैंकले मनाङको नार्फु र काइके गाउँपालिकामा शाखा खोल्न पूर्वाधार तयार पार्दै छ। सिभिल बैंकले गोरखा र जाजरकोटका दुई/दुई गाउँपालिकामा शाखा विस्तार गर्न लागेको छ।

‘नेपाल इन्भेस्मेन्ट बैंक र ग्लोबल आईएमई बैंकको एक/एक स्थानीय तहमामात्र शाखा स्थापना हुन बाँकी छ’, पौडेलले भने, ‘ग्लोबल आईएमई बैंकले संखुवासभाको भोटेखोला गाउँपालिका र नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगञ्ज गाउँपालिकामा शाखा खोल्ने तयारी गरेको छ।

२८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ फाइनान्स कम्पनी र ७५ वटा माइक्रोफाइनान्स गरी एक सय ६० वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। यिनले मंसिर अन्तिमसम्म चार हजार पाँच सय ३१ वटा शाखा सञ्चालन गरेका छन्। एक हजार तीन सय २० वटा शाखारहित बैंकिङ सेवा छन्। नेपालमा ५८ लाख २७ हजार मोबाइल बैंकिङ र सात लाख ९१ हजार इन्टरनेट बैंकिङ ग्राहक छन्।

Loading...