शेयरबजारमा लगानी गर्नेहरुको २८ महिनामा डुब्यो ७०० अर्ब

काठमाडाैं । पछिल्लो २८ महिनामा सेयर बजार परिसूचक (नेप्से) करिब ४० प्रतिशतले घटेर आइतबारसम्ममा ११३०.८९ अंकमा झरेको छ । यो अवधिमा परिसूचक ७५१ अंकले घटेको छ । जबकि २०७३ साउन १२ मा नेप्से १८८१ अंकमा पुगेको थियो ।

सूचिकृत कम्पनीको न्यून लाभांश तथा बैंकिङ प्रणालीको ब्याजदरमा कमी नआएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जानकारहरू बताउँछन् । विगत २८ महिनालार्ई फर्केर हेर्ने हो भने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ४ गुणासम्म पुँजी वृद्धि गर्ने नीति लिएपछि हकप्रद पाउने आशमा बजार प्रवेश गरेका लगानीकर्ता नै अहिले समस्यामा परेका हुन् ।

हकप्रद सेयरलार्ई पनि प्रतिफल मानेका सेयर बजारका लगानीकर्ताले यो अवधिमा ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाइसकेका छन् । हकप्रद सेयर बिक्री गरेर नियामक निकायले तोकेको पुँजी पु-याएका बैंक-वित्तीय संस्थाले सेयरधनीलाई दिएको प्रतिफल मुद्दती निक्षेपको ब्याजदरको हाराहारीमा भएपछि नेप्से घट्ने क्रम कायम छ ।

बैंकहरूले कर्जा लगानीयोग्य रकम नभएको भन्दै कर्जाको ब्याजदर बढाएका छन् भने नयाँ कर्जा प्रवाहमा पनि नियन्त्रण गरेका छन् । यस्तै, बैंकहरूले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेर एउटा बिन्दुमा स्थिर राखेका छन् ।

२०७३ साउन १३ गते हालसम्मकै उच्च २० खर्ब ७० अर्व रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण आइतबारसम्ममा १३ खर्ब ४८ अर्बमा झरेको छ । सेयर बजारमा सुचिकृत हुने धितोपत्रको संंख्या बढेको भए पनि सेयर मूल्यमा गिरावट आएपछि बजार पुँजीकरण घटेको हो ।

नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरणलाई सेयर बजारको सम्पत्तीको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत सेयरहरूको कुल बजार मूल्य अर्थात सम्पूर्ण कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण हो । बजार पुँजीकरणले समग्र बजारको अवस्थालार्ई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलार्ई प्रत्यक्ष मूल्यांकन गर्न सकिन्छ ।

सेयर बजारको भविष्य कसैले पनि बताउन नसक्ने एक धितोपत्र दलालले बताए । पछिल्लो समयमा सेयर बजार घट्नुको कारण निश्चित नभएपनि बैंकिङ क्षेत्रको ब्याजदर नघट्नु नै मुख्य कारण रहेको उनको भनाइ छ ।

हकप्रद सेयरलाई प्रतिफल मानेर लगानी गर्ने लगानीकर्तालाई सम्बन्धित कम्पनीले दिएको प्रतिफलले कर्जाको ब्याजदर नधान्ने अवस्था आएपछि बजार ‘प्यानिक’ अवस्थामा देखिएको उनको तर्क छ । घट्दो बजारमा लगानीकर्ताको मनोबल पनि अझै घट्नसक्ने भन्दै सेयर बिक्री गर्ने मुडमा जाने ति दलालले बताए ।

त्यसका साथै बजार अझै घट्ने सम्भावना देखेका लगानीकर्ता अहिले बिक्री गरेर पछि पुनः कम मूल्यमा खरिद गर्ने अभ्यासले पनि बजार घटेको उनको तर्क छ । सेयर बजार प्यानिक अवस्थामा पुगेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

“पछिल्लो समयमा सेयर लगानीकर्तालाई मार्जिन कलको दबाब बढेको छ,” अर्यालले भने, “इज्जतका लागि घाटा खाएरै भए पनि सेयर बिक्री गरेर बैंकको मार्जिन कल नआउने बनाउनुपर्ने अवस्था छ ।” बैंकहरूले कर्जा लगानीयोग्य रकम नभएको भन्दै ब्याजदर बढाएको उनले बताए ।

असोजपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि सो अनुसार नहुँदा लगानीकर्ता सेयर बिक्री गर्ने दबाबमा रहेको उनले बताए । बहुमतको कम्युनिष्ट सरकारले देश विकास गर्छ कि भन्ने आशा अब निराशामा परिणत भएकाले त्यसवाट सेयर बजारमात्र सकारात्मक हुन नसक्ने उनको तर्क छ ।

सेयर बजार प्यानिक भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको उनले बताए । पछिल्ला दिनमा नेप्से परिसूचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा दैनिकजसो कमी आएको छ । औसत दैनिक २ अर्बको कारोबार हुने बजारमा मुश्किलले ३० करोड रुपैयाँ बरवरको सेयर कारोबार हुन गरेको छ । आइतबारमात्र सेयर बजार परिसूचक १७ अंकले घटेर ११३० अंकमा झरेको छ ।

Loading...