नेपाल वायु सेवा निगम टाट उल्टिने चरणमा, ३९ अर्ब ऋण, अझै ऋणको खोजी

थप ऋण नपाए ताला लाग्ने अवस्था निगम ताला लाग्ने अवस्थामा

थप ऋण नपाए ताला लाग्ने अवस्था निगम ताला लाग्ने अवस्थामा
काठमाडौं, २९ कार्तिक । राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगम इतिहासकै सबैभन्दा ठूलाे संकटमा उभिएकाे छ । पछिल्लो समय थप गरिएका वाइडबडीका कारण ऋण भार थपिएको र त्योसँगै तिर्नुपर्ने ब्याज दायित्वका कारण निगम अत्यन्तै संकटमा उभिएकाे हाे । ठूलाे संकटमा फसेपछि नेपाल एयरलाइन्सले सरकारसँग अाफ्नाे बचाउका लागि गुहार नै मागेकाे छ ।

बिहीबार निगमले श्वेत पत्र जारी गर्दै अाफ्नाे अवस्थाबारे सार्वजनिक गरेकाे हाे । निगमले न्यूराेडस्थित अाफ्नै कार्यालय भवनमा पत्रकार सम्मेलन गरी जारी गरेकाे श्वेत पत्रमा उल्लेख गरिए अनुसार निगममा अहिले दैनिक कामकार्य गर्न पनि रकम अभाव हुने गरेकाे छ । निगमकाे ऋण यति धेरै भएकाे छ कि जुन यस्तै अवस्थामा हाे भने त्यही ऋणकाे भारीले थिचेर निगम डुब्ने अवस्थामा छ । अहिले निगमलार्इ ३९ अर्ब रकम ऋण लागेकाे छ ।

यस्ताे अवस्थामा निगमले अाफ्नाे उद्धारकाे माग गर्दै सरकारसँग गुहार मागेकाे छ । सरकारले यसअघि दिने भनिएकाे ऋण रकम उपलब्ध गराएमा मात्र निगम तङ्ग्रिन सक्ने श्वेतपत्रले देखाउँछ । पछिल्लाे समय थपिएका २ वाइडवडी जहाजकाे ऋणको दायित्व बढेकाे र अरु दैनिक कामकार्य सञ्चालनका लागि सरकारले थप पुँजी दिनुपर्ने श्वेतपत्रमा उल्लेख छ ।

निगमकाे कूल सम्पति ४८ अर्ब रहेकाे छ । यति ठूलाे सम्पत्ति भएको संस्थाको लागि ३९ अर्ब ऋणको भार धेरै ठूलो नभए पनि रकम अभाव हुने भन्दै सरकारसँग २० अर्ब रुपैयाँ पुँजी माग गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए।

नेपाल एयरलाइन्ससँग दीर्घकालीन प्रकृतिको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। जसको संस्थाले वर्षेनि ३ अर्ब ६६ करोड ब्याज तिर्नुपर्ने छ। त्यस्तै १ अर्ब ८० करोड रुपैयाँ बराबरको छोटो अवधिको ऋण छ। जसको १८ करोड वार्षिक ब्याज तिर्नुपर्छ।

पछिल्लो समय वाइडबडी जहाज किन्दा लिएको २४ अर्ब ऋणले निगमको भार ह्वात्तै बढाएको अध्यक्ष खरेलको भनाइ छ। संस्थाको क्षमतामा सुधार नभई एकैपटक ठूलो व्यापार आउँदा त्यसले तरलतामै प्रभावित पारेकोले सरकारसँग तत्काल केही रकमको आश गरिएको जानकारी दिए। सरकार जमानी बसी २४ अर्ब ऋण लिएर किनेकाे भनिएका २ वाइडवडी जहाज भाडामा मात्र ल्याइएको भए, त्यो नेपालको इतिहासमा सबैभन्दा ठूलो आर्थिक अपराध हुने विश्लेषण हुन थालेकाे छ । 

‘हामीले माग गरेको २० अर्ब रुपैयाँ एकैपटक आउछ भन्ने पनि होइन तत्काल केही रकम पाएपछि हामी त्यसलाई पुँजी वृद्धि गरेर संस्थाको क्षमता वृद्धिमा प्रयोग गर्छौं,’ अध्यक्ष भएपछि संस्थाको अवस्थाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खरेलले भने।

दुइटा एयरबस ए ३२० सिरिजका जहाज, एउटा बोइङ र २ वटा एयरबस ए३३० जहाज भएको एयरलाइन्सले अहिले आठवटा गन्तव्यमा उडान गरिरहेको छ। न्यारोबडी जहाजबाटै सन्तोषजनक व्यापार गर्न नसकिरहेको एयरलाइन्सले वाइडबडी जहाज ल्याएपछि त्यसले झनै संचालन नोक्सानी नै बढाएको छ। यसले गर्दा संस्थाको वित्तीय जोखिम बढ्दै गएको छ। बजारीकरणको अभाव, चुस्त व्यवस्थाको कमी जस्ता कारणले संस्थाले राम्रो उपस्थिति जनाउन सकेको छैन।

लामो दूरीमा उडान भर्ने भनेर ल्याइएका वाइडबडी जहाजले ती गन्तव्यमा उडान अनुमति नपाउँदा अहिले पुरानै छोटा दूरीमा उडिरहेका छन्। वार्षिक २४ अर्ब ऋण लिएर किनिएका ति जहाजको वार्षिक ब्याज मात्र साढे २ अर्ब रहेको छ।

ऋण र ब्याजको भार बोक्दै भित्रिएका जहाज भने अहिले एक तिहाइ क्षमतामा उडिरहेका छन्। दैनिक १६ घण्टासम्म उड्नुपर्ने जहाज अहिले औसत ५ घण्टा उडान गरिरहेका छन्। पहिलो जहाज असारमा आएको थियो भने दोस्रो जहाज साउनमा आएको थियो।

ती जहाज हाल दिनमा ५ घण्टा उडान गरिरहेका छन् भने औसत अकुपेन्सी ६१ प्रतिशत रहेको छ। अर्थात् कूल सिटमध्ये ती जहाजले जम्मा ६१ प्रतिशत सिटमात्र भरिएका छन्। छोटो दूरीमा सस्तो भाडा र थोरै यात्रु अर्कोतिर ठूलो ऋण र ब्याजको भार चौतर्फी वित्तीय बोझमा एयरलाइन्स परिरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेका कतिपय विदेशी एयरलाइन्सले यही छोटो रुटमा तिनै ठूला जहाज उडाएर पर्याप्त यात्रु बोकिरहेका छन् तर नेपाल एयरलाइन्स भने लामो दूरी पाइएन भनेर बाहाना बनाएर बसिरहेको छ।

अध्यक्ष खरेल भने अबको चार महिनामा जापान, कोरिया र चीनका सहरमा वाइडबडी जहाजबाट उडान सुरू गरिसक्ने बताउँछन्। ‘त्यसपछि हामी अहिलेको आर्थिक संकटलाई केही व्यवस्थापन गर्न सक्छौं तर त्यसमा पनि सुरूमा जानेवित्तिकै जादु हुन्छ भन्ने होइन’ उनले भने। उता कोरिया र जापानले भने युरोपियन युनियनको कालोसूचीलाई बहना बनाएर उडान अनुमति दिन आलटाल गरिरहेका छन्।

बिहीबार श्वेतपत्र जारी गर्न अायाेजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेल बाेलिरहँदा उनकै छेउमा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार भने माेवाइलमा गेम खेलेर अाफ्नै सूरमा बसिरहेका थिए । पछिल्लाे समय निगममाथि अाएकाे याे संकटकाे एक कारण तिनै कंसाकार भएकाे चर्चा चुलिएकाे छ । सार्वजनिक खरिद एेनदेखि सबै सबै प्रक्रिया मिचेर कंसाकारले निगमलार्इ यति ठूलाे ऋण लगाउँदै जवरजस्त किनेकाे भनिएका २ वटा वाइडवडी जहाज अन्तत किनेकाे नभर्इ भाडामा मात्र ल्याएकाे खुलेपछि त निगम परिवार र यसका शुभचिन्तक स्तब्धै बनेका छन । कंसाकार मात्र हाेइन पर्यटन मन्त्री रविन्द्र अधिकारीले समेत वाइडवडी जहाज खरिद प्रकरणमा सुरुदेखि नै अाफ्नै खालकाे ढीपी गर्दै अाएका थिए । उनीहरुले अहिलेसम्मका सबै प्रक्रिया र कानुनी बाटाे मिचेर जवरजस्त यी जहाज खरिद गरेकाे थाहा हुन अाएकाे छ । तै पनि अन्तिममा अाएर जहाज खरिद गरिएकाे नभर्इ भाडामा लिएकाे र त्याे पनि सिधै एयरबस उत्पादन गर्ने कम्पनीसँग नभर्इ अनेक दलालहरुकाे जालाेभित्रबाट अर्बाै रुपैयाँ तिरेर जहाज ल्याएकाे समेत थाहा हुन अाएकाे छ । बिहीबार पत्रकारहरुले यसबारे धेरै जिज्ञाशा राख्दा पनि निगम व्यवस्थापन पक्षले कुनै जवाफ दिएन । निगमका कार्यकारी अध्यक्ष खरेलले यसबारे अहिले नबाेल्न र अर्काे कार्यक्रम राखेर त्यसबारे बाेल्ने भन्दै पन्छिए । त्यसैगरी कंसाकार भने पत्रकारहरुका अगाडि बसेर माेवाइल खेलाएर मात्र बसे । उनले कुनै एक शब्द पनि बाेलेनन् ।

Loading...