मध्यरातमा माल्डिनो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतिर

काठमाडौं, ६ बैसाख । मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए । घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले बताए । उनीहरुको सकुशल उद्दार गरिएको छ ।

विमानले ९ बजेर ४५ मिनेट जाँदा विमानस्थलबाट उडान भर्नुपर्ने थियो । विमान धावनमार्गबाट चिप्लिएपछि यतिबेला विमानस्थल बन्द गरिएको छ । काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने विमानलाई होल्ड गरेर राखिएको छ ।

‘उडान गर्ने बेलामा जहाजको चक्कामा समस्या आएपछि टेकअफ नगरी पाइलटले पार्किङतर्फ लगेका छन्’, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘उड्नै लाग्दा समस्या आएको जहाजलाई पार्किङमा लगेर मर्मत भइरहेको छ, मर्मत सकिएपछि आजै यो जहाज मलेसिया जाने विश्वास लिएका छौँ ।’

यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

Loading...