काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएको छ। बाढीका कारण नदीको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन् भने उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार राति करिब २:१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएको हो।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाक्षेत्रमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरसम्म आवतजावतका लागि कास्की र पर्वततर्फबाट निर्माण गरिएका पुल बाढीले बगाएको जनाइएको छ। बाढीका कारण मन्दिरको आधा भागमा समेत क्षति पुगेको छ।
मन्दिरमा एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी तीन जना फसेका छन्। उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्कीबाट रोप रेस्क्युका चार जना र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ।
हाल उद्धारकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।







