सुरुङमार्ग उद्घाटन गर्दा धन्यवाद दिएकी दिएनन् होला : युवराज दुलाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सचेतक युवराज दुलालले देशमा पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकासका कामलाई बेवास्ता गरेर “केही भएन” भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दुलालले सुरुङमार्गदेखि अन्तर्राष्ट्रिय विमानस्थल, सडक विस्तार, ऊर्जा उत्पादन तथा खेल पूर्वाधारसम्मका थुप्रै विकासका काम सम्पन्न भएको वा निर्माणको चरणमा रहेको उल्लेख गरेका छन्।

उनले नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेको, तिनकुने–माइतीघर, तिनकुने–सूर्यविनायक, कोटेश्वर–सातदोबाटो–कलंकी लगायतका सडक विस्तार भएको, कलंकीमा अन्डरपास र ग्वार्कोमा ओभरपास निर्माण गरिएको, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा निजगढ–काठमाडौं द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढिरहेको उल्लेख गरेका छन्।

त्यसैगरी, दैनिक करिब ९०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको, नयाँ वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर निर्माण भएको, कीर्तिपुर क्रिकेट मैदान निर्माण तथा मुलपानी क्रिकेट मैदान निर्माणाधीन रहेको, दशरथ रङ्गशालाको स्तरोन्नति गरिएकोलगायतका कामलाई पनि उनले विकासका उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

दुलालले यी केही उदाहरण मात्र भएको उल्लेख गर्दै देशमा धेरै विकासका काम भएको दाबी गरेका छन्। “भएका आफैं भए, नभएका अरूले गरेनन् भन्ने सोचले देश बन्दैन। नगरेको र नभएको होइन, नपुगेको चाहिँ हो,” उनले भने।

उनले विगतका सरकारहरूले कुनै काम नगरेको भन्ने धारणा राख्नेहरूलाई लक्षित गर्दै व्यंग्यात्मक रूपमा भनेका छन्, “आज सुरुङमार्ग उद्घाटन हुँदा धन्यवाद दिएकी दिएनन् होला।”