लायन्स क्लब अफ काठमाडौं अनुपमको पाँचौं चार्टर नाइट समारोह तथा पद हस्तान्तरण कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका पूर्व डिष्ट्रिक्ट गभर्नर डिके ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अतिथिले लायन्स अभियानले समाजमा पुर्याउँदै आएको मानवीय सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको प्रशंसा गर्दै क्लबले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले सामाजिक सेवामा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्लबका निवर्तमान पदाधिकारीहरूले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै नवनिर्वाचित कार्यसमितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए।
नवगठित कार्यसमितिले सामाजिक सेवालाई प्राथमिकतामा राखी विभिन्न मानवीय तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त अवसरमा लायन्सका विभिन्न क्लबका पदाधिकारी, समाजसेवी, विशिष्ट अतिथि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सांस्कृतिक प्रस्तुति, सम्मान तथा शुभकामना मन्तव्यका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
लायन्स क्लब अफ काठमाडौं अनुपमले विगत पाँच वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।







