बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानमा आइफोनको विषयमा भएको विवादले उग्र रूप लिँदा कुटपिटबाट लजिनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीले राति करिब १० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।
घर नफर्किएपछि परिवारले साउन २ गते इलाका प्रहरी कार्यालय गलकोटमा लजिन बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएको थियो। त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, तालिमप्राप्त कुकुर, पोलिग्राफ परीक्षण, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा व्यापक खोजी तथा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानकै क्रममा साउन ९ गते बिहान करिब सवा ९ बजे बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
घटनामा संलग्न रहेको आरोपमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध यसअघि नै व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको देखाएको छ। घटनाको कारण, संलग्नता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







