काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमा पुगेपछि नेपाली वाम राजनीतिमा फेरि एकपटक तरङ्ग पैदा भएको छ।
प्रदेश सरकारको नेतृत्व बाँडफाँट र संयुक्त सरकार गठनसम्बन्धी सहमतिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठनको बहसलाई समेत नयाँ ऊर्जा दिएको देखिन्छ ।
शनिबार सार्वजनिक गरिएको सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।
यसअघि २०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण भएर तत्कालीन नेकपा गठन हुँदा मुख्य साक्षी रहेका एमालेका विष्णुप्रसाद पौडेल र नेकपाका वर्षमान पुन यसपटकको सहमतिमा पनि साक्षीका रूपमा रहेका छन्। दुवै नेताको उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतका अनुसार प्रचण्डले श्रीलंका भ्रमणमा जानुअघि नै सहमति प्रक्रियालाई अन्तिम रूप दिन वर्षमान पुनलाई जिम्मेवारी दिएका थिए। उता, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि थुनामुक्त हुनासाथ अध्यक्ष ओलीको इच्छा अनुरुप यस प्रक्रियामा सक्रिय भएका थिए।
पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, कतिपय प्रदेशमा बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्यालाई समाधान गर्न दुवै दल एक ठाउँमा उभिनुपर्ने स्थिति बनेको बताइएपनि वामपन्थीहरु एकता उन्मुख भएका बिश्वास मान्नेहरुको बाहुल्यता बढेको छ ।
नेताहरूले भने जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र बनाउने उद्देश्यले सहकार्य गरिएको बताएका छन् ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ।
मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो सहमति केवल प्रदेश सरकार गठनमा सीमित नभई वाम शक्तिबीच बढ्दो सहकार्यको संकेतका रूपमा पनि हेरिएको छ।
यद्यपि, यसलाई तत्काल पार्टी एकताको औपचारिक प्रक्रिया भन्न भने सकिने अवस्था छैन। तर प्रदेशबाट सुरु भएको सहकार्यले आगामी दिनमा वाम एकताको आधार बनाउनेमा कार्यकर्ताहरु विश्वास ब्यक्त गर्छन् । तर, उनीहरू पहिले झै हतारमा र सीमित नेताहरूको स्वेच्छामा नभई बिधि र पद्धतिमा वाम सहकार्य एवं एकताका पक्षधर देखिन्छन् ।






