काठमाडौँ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति गरेका हुन्।
सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्।मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ।
सहमतिमा ओली र प्रचण्डले हस्ताक्षर गरेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारहरूमा नेकपा एमालेसँग सत्ता सहकार्य तोड्ने निष्कर्ष लिएको एक सातापछि वाम सहकार्यको तीन बुँदे सहमति जुटेको हो ।
दुई दल मिल्दा पनि सरकार बनाउन संख्या नपुग्ने गण्डकी र मधेशबारे भने अन्य दलसँग छलफल गर्ने सहमति भएको छ । स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्न ओली र प्रचण्ड केही समय अघि नै तयार भइसकेका थिए । तर, कांग्रेसलाई पनि समेटेर लैजानेगरी छलफल गर्ने प्रस्ताव प्रचण्डले राख्दा समय लागेको हो ।
‘जब कांग्रेसले सहकार्य तोडियो भन्दै धमाधम निर्णय लिनथाल्यो, त्यसपछि दुई दलबीच कुराकानी ठप्पै भएको थियो,’ स्रोत भन्छ, ‘तर, प्रचण्डले म कुरा गर्छु भनेपछि पर्खने काम भएको थियो ।’
तर, शुक्रबार दिउँसो पनि प्रचण्डसँग कांग्रेस सभापति गगन थापाले अडान कायमै राखे । उनले सातै प्रदेशमा प्रतिपक्षीविहीन सरकार बनाउने प्रस्ताव अस्वीकार गरेपछि प्रचण्डले थप छलफल गरेनन् ।







