धनकुटा । फरक–फरक जन्ममिति उल्लेख गरी दुई वटा नेपाली नागरिकता र राहदानी बनाएको आरोपमा धनकुटामा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार काफ्लेले एउटै नाममा फरक जन्ममिति राखेर जिल्ला प्रशासन कार्यालय धनकुटाबाट दुई वटा नागरिकता बनाएका थिए। ती नागरिकताकै आधारमा उनले दुई वटा राहदानीसमेत लिएको खुलेको छ।
प्रहरीका अनुसार काफ्ले राहदानी प्रयोग गरेर विदेशसमेत गएका थिए। पछि राहदानी नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय पुग्दा राहदानी विभागले पछिल्ला दुई राहदानीको फोटो र बायोमेट्रिक विवरण एउटै व्यक्तिसँग मेल खाएको जानकारी गराएपछि उनलाई सोधपुछ गरिएको थियो। सो क्रममा उनले दुई वटा नागरिकता बनाएको स्वीकार गरेका थिए।
जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत पुष्प धमलाका अनुसार काफ्ले आफैं दुई वटा नागरिकता बोकेर एउटा नागरिकता रद्द गरिदिन अनुरोध गर्दै कार्यालय पुगेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट काफ्लेले गलत उद्देश्यले झुटा विवरण पेश गरी आफ्नो वास्तविक जन्ममिति लुकाएर दोहोरो नेपाली नागरिकता प्राप्त गरेको तथा दुवै नागरिकताका आधारमा राहदानी बनाएको देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन्। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।







