वर्षाका कारण मेलम्ची प्रभावित, उपत्यकामा खानेपानी आपूर्ति बन्द

काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पस्दा काठमाडौँ उपत्यकामा भइरहेको मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीका कारण पानी अत्यधिक धमिलो बनेपछि प्रशोधन प्रक्रिया प्रभावित भएको हो। त्यसपछि मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउने पानीको प्रवाह अस्थायी रूपमा रोकिएको उनले जानकारी दिए।

प्रवक्ता चन्दले पानीको गुणस्तर सुधार भएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा खानेपानी आपूर्ति सुरु गरिने बताए।

उनका अनुसार यदि निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्छ।