काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको हो।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै बर्डफ्लु संक्रमित पन्छी वा पन्छीजन्य उत्पादन बिक्री गरेको पुष्टि भए सम्बन्धित व्यवसायीलाई कानुनी कारबाही गरिने स्पष्ट पारे।
उनका अनुसार गत चैतयता देशका ११ जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको छ। भाइरसले स्वरूप परिवर्तन (म्युटेसन) गर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले उच्च सतर्कता अपनाएको जनाएको छ।
संक्रमण नियन्त्रणका लागि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको छ। प्रभावित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ सक्रिय रहेकाले केही स्थानमा संक्रमण नियन्त्रणतर्फ उन्मुख रहेको विभागको भनाइ छ।
विभागले मरेका कुखुरा वा अन्य पन्छी जथाभावी फाल्न नहुने भन्दै संक्रमित पन्छी नष्ट गर्ने क्रममा पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ। लापरवाही गर्दा मानिसमा समेत संक्रमण सर्न सक्ने जोखिम रहने विभागले जनाएको छ।
हालसम्म काठमाडौँ उपत्यकासहित बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलोग्राम दाना नष्ट गरिएको विभागले जानकारी दिएको छ।
प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप अझै विकास हुन नसकेकाले संक्रमण पुष्टि भएका पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।
यस्तै, प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी मुचुल्का उठाउने तथा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने तयारीस्वरूप आवश्यक विवरण संकलन भइरहेको विभागले जनाएको छ।







