काठमाडौँ । देशभरका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा ८९ अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको मूल्याङ्कनमा भरतपुर अस्पताल ग्रिन जोनमा कायम रहँदै पहिलो स्थानमा परेको हो।
गत वर्ष ८८ अंक ल्याएको अस्पतालले यस वर्ष ८९ अंक प्राप्त गरेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७७ अंकसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले सेवा सुविधा, उपकरण, औषधि, सरसफाइ र जनशक्ति व्यवस्थापनमा सुधार गर्दै आएकाले यो उपलब्धि हासिल भएको बताए।
मन्त्रालयका संयोजक डा. श्रीराम तिवारीका अनुसार १,४९७ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा भरतपुर अस्पतालले अधिकांश सूचक पूरा गरेकाले उत्कृष्ट बनेको हो।







