सीमा वारपार लागूऔषधको संगठित सञ्जाल नियन्त्रणमा सरकारी प्रतिवद्धता

ललिता साह, काठमाडौ । नेपाल सरकारले भारतसँगको खुला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषधको अवैध ओसारपसार तथा सीमा वारपार फैलिएको संगठित अपराधको सञ्जाल नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले लागूऔषधको बढ्दो समस्यालाई औपचारिक कार्यक्रममै सीमित नराखी अन्तरनिकाय समन्वय, कानुनी सुधार र प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिइने बताए।

“यो विकराल सामाजिक समस्यालाई दिवसको औपचारिकतामा सीमित राख्दैनौं। अन्तरनिकाय समन्वय र कानुनी सुधारका कामलाई निरन्तर अघि बढाउनेछौं,” उनले भने।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाका अनुसार सीमा जोडिएका जिल्लामा लागूऔषध नियन्त्रणका लागि हालसम्म भएका प्रयास पर्याप्त नभएकाले आगामी आर्थिक वर्षदेखि थप बजेटसहित प्रभावकारी नीति तथा कार्ययोजना कार्यान्वयन गरिनेछ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लागूऔषध नियन्त्रणमा संस्थाहरू स्थापना मात्र पर्याप्त नहुने उल्लेख गर्दै युवालाई सीप, क्षमता र रोजगारीसँग जोड्ने कार्यक्रम आवश्यक रहेको बताए। त्यसो हुन सके लागूऔषध नियन्त्रणसम्बन्धी अभियान अझ प्रभावकारी र दीर्घकालीन हुने उनको भनाइ थियो।

लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्ध राष्ट्रिय सञ्जालका प्रशान्त शर्माले राजनीतिक स्थायित्वबिना लागूऔषधजस्ता गम्भीर अपराध नियन्त्रण गर्न कठिन हुने धारणा राखे। रिकभरी नेपालका दिलीप गुरुङले लागूऔषध समस्याका कारण ठूलो संख्यामा युवा कानुनी झमेलामा परेको बताए।

संयुक्त राष्ट्रसंघीय निकाय यूएन नेपालका कार्यक्रम संयोजक अलरिच मैसरले लागूऔषध दुर्व्यसन र ओसारपसार विश्वव्यापी सामाजिक चुनौतीका रूपमा विस्तार भइरहेको उल्लेख गर्दै नेपाल खुला सीमाका कारण थप जोखिममा रहेको बताए। उनले उपचार, स्वास्थ्य सुरक्षा र जीवन रक्षा नै संस्थाको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।

कार्यक्रममा गृह मन्त्रालयका नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुमन घिमिरेले सरकारको आगामी लागूऔषध नियन्त्रणसम्बन्धी नीति तथा बजेटबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सोही अवसरमा मन्त्रालयले ‘जीवन रक्षा’ नामक लागूऔषध सचेतनामूलक जर्नल पनि सार्वजनिक गरेको छ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार विश्वभर लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसारको प्रवृत्ति निरन्तर बढ्दो क्रममा छ। यस्तै, सप्तरी प्रहरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा लागूऔषधसम्बन्धी मुद्दा र त्यसमा संलग्न व्यक्तिको संख्या वृद्धि भएको प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए।

आभाष समूहद्वारा प्रयोग भइसकेका मेथाडोनका बोतल नष्ट
अन्तर्राष्ट्रिय दिवसकै अवसरमा आभाष समूह भक्तपुरले मौखिक प्रतिस्थापन उपचार (मेथाडोन) कार्यक्रममा वर्षभर प्रयोग भएका खाली बोतल सुरक्षित रूपमा नष्ट गरेको छ।

समूहका कार्यक्रम संयोजक हरिबहादुर बस्नेतका अनुसार १ लिटर क्षमताका १६७ वटा र १५० मिलिलिटर क्षमताका ४१६ वटा मेथाडोनका खाली बोतलको पिँध फुटाई पुनः प्रयोग गर्न नमिल्ने बनाइ

जनप्रतिनिधि, सामाजिक अभियन्ता, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थितिमा सूर्यविनायक नगरपालिकाको फोहोर सङ्कलन केन्द्रमा व्यवस्थापनका लागि बुझाइएको हो।

समूहका मानसिक स्वास्थ्य परामर्शदाता रवि खड्काका अनुसार दातृ निकाय तथा नेपाल सरकारसँगको समन्वयमा संस्थाले लामो समयदेखि लागूऔषध प्रयोगकर्ताको जोखिमपूर्ण व्यवहार न्यूनीकरण र माग घटाउने क्षेत्रमा काम गर्दै आएको छ। यस अभियानका कारण चालु वर्ष एचआईभी र हेपाटाइटिस–सी संक्रमणको नयाँ दर शून्यमा झार्न सफलता मिलेको उनले दाबी गरे।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८७ डिसेम्बर ७ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन २६ लाई लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ।