भँगेरीको यात्रापछि
मन बदलिन्छ
लुङ्ग्रीहरू
नसा नसाभएर
शिक्षा भएर उठ्छन्
एकाविहानै
पुष्पलाल भएर !
कम्मर कसेर
काव्यिक यात्रामा
भेलाभएकाहरू
काव्य सुनाउन
आतुर देखिन्छन्
कविहरू !
काव्यिक मार्च गरेर
दुनै , खारा र बेनीहरू
हामीसँगै उठेकाछन् !
पहाड प्रहार गर्छ
मुटुमा
कठोर कुहिरा छिचोल्दै
हाम्रो यात्रामा गुडिरहेछौँ
सैपाल र घुर्चीका जँघारमा
आँसु पगालेर प्यूँछौँ
प्यास मेटाउन ,घनघस्याहरूमा
वैचारिक कोलाहल
नदीझैँ बगिरहेको छ
राजनैतिक शिखरमा
निरन्तर उक्लिँदै
वैचारिक सिँढी टेक्तै
हामी लम्किरहेछौँ
काव्यिक युद्धमा
प्रिय पुष्पलाल !
कतिले काव्य लेख्न छोडिसके
पहराहरू देखेर
कतिले छोडिसके
टाकुराहरू चढ्न
हामी लेख्छौँ
पुष्पलाल जीवनी
वर्गदुस्मनहरूमा
धाँजाहरू फाटीरहेकाछन्
फलाम छेड्दै
वैचारिक कठोरता
पहाड उक्लिरहेछौँ
काव्यिक आरोही भएर
धावा बोलिरहेछौँ
सारा यात्रामा
काव्यिक श्रृंखलाहरू
एकला एक्लै
चढिरहेछौँ
पुष्पलालझैँ फुल्न
विग्रँदो घरको समाचार
नैतिकता हराउँदै गएको मानव
अस्तित्वको हतोत्साह गर्छ
पुराणका कथाझैँ
वर्तमान नेपालीहरू
चुट्तै लखेटेका बन्दूक भएकामा
दुःख लाग्छ
तोपहरू लिएर ,अघिबढ्नु पर्ने
हाम्रा नेपालीहरू
अलिकति पछि हटेको देखेर
मन खिन्न हुन्छ !
आँसुका वरफहरूमा
आँसीमा साँध लगाउँदै
काव्यिक यात्रामा
कलमका निफहरूमा
धार उधाएर हामीहरू
पुष्पलालको बाटोमा
नाच्दै गाउँदै हिँड्नु पर्छ
काव्यिक कुवाहरू खोतल्दै
विचारको माछा खोजरहेछौँ
आज हामी !
पुष्प मैदानमा
उभिएका छौँ हिमालझैँ
बगिरहेकाछौँ निलो पानी बनेर
काव्यको स्पाति मैदानमा
कलमका निफहरूका कवाज खेलाउँदै
हामी परेड खेलिरहेछौँ
राता सिपाहीहरूझैँ
अगाडि लम्किँदै
छातीबाट
कविताहरू ,पाइला सारीरहेछन्
हिफाजतपूर्वक
हामी माझ!
चराचुरुंगीका विष्टाले
अनुहार छोपिएकाहरू
पुष्पलालमाथि आक्रमण गर्न
चम्किरहेका वेला
हामी प्रतिरोधमा उत्रिनु छ
हाम्रा कलमका निफहरू
साथी लेनिनझैँ
मुस्कुराउँछन् ,मुस्कुराइरहेछन्
आज
सुक्नै आँटिसकेको
कलमको निफ भन्छ
पुष्पलाल जिन्दावाद !