चीनमा ७५ हजार र जापानमा ७४ हजार विस्थापित

जापानमा अाएकाे बाढीले यसरी गाउँका गाउँ नै विस्थापित हुनु परेकाे छ ।

एजेन्सी । भीषण वर्षापछि आएको बाढीपहिरोमा परी चीनमा ७५ हजार जना र जापानमा ७४ हजार जना विस्थापित भएका छन् ।

उत्तरी चीनको जिलिन प्रदेश अन्तर्गत पर्ने योङजी जिल्लामा बाढी पहिरोका कारण ७५ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने ७५ हजार बासिन्दा विस्थापित भएका छन् ।

मुसलधारे वर्षा गत बिहीबार बिहान ९ बजेतिर सुरु भएको स्थानीय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । बिहीबारदेखि शुक्रबार मध्याह्नसम्म औसत १७५.४ मिलिमिटर वर्षा भएको अधिकारीहरूले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा यातायात, विद्युत, ग्यास, खानेपानीलगायतका अत्यावश्यक सेवाहरू पनि अवरुद्ध भएका छन् । बाढीका कारण ७५ हजार जना विस्थापित भए पनि दुई लाख ६० हजारभन्दा बढी प्रभावित भएका छन् ।

त्यसैगरी जापानको मध्य भागमा पर्ने एइची र गिफु प्रदेशमा शुक्रबार आएको बाढीपहिरोका कारण झण्डै ७४ हजार जना विस्थापित भएका छन् । स्थानीय सरकारी अधिकारीहरूले विस्थापित सबै जनाको घर सम्पत्तिमा ठूलो क्षति पुगेको जानकारी दिएका छन् ।

जापानको मौसम विज्ञान विभागले शुक्रबार बिहान झण्डै १२० मिलिमिटरको दरले वर्षा भएको जनाएको छ ।

एइची प्रान्तको इनुयामा र कोमाकीमा ठूलो वर्षा मापन गरिएपछि इनुयामा नगरपालिकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान शुक्रबार बिहान आह्वान गरेको थियो ।

एइची र गिफुका अलिअलि बाँकी रहेका झण्डै तीन हजार पाँच सय घरमा पनि यातायात सेवा, विद्युत सेवालगायतका सेवाहरू अवरुद्ध भएका छन् ।

अधिकारीहरूले शुक्रबार दिउँसोसम्म कुनै मानवीय क्षतिको खबर नआएको बताएका छन् ।

Loading...