उत्तरका सबै नाका खोल्न र नेपालतर्फको सडक समेत निर्माण गर्न चीन तयार

काठमाडाैं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ।

साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जनाए ।

ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने,‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन्। यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ।’

चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन्। ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए ।

चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको पहल गर्ने जानकारी दिएको ओलीले बताए । द्विपक्षीय हित र सरोकारकेन्द्रित भेटवार्तामा तिब्बती पक्षले सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया दिएको ओलीको भनाइ थियो।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रतिनिधि र तिब्बत कम्युनिस्ट पार्टीका उच्च अधिकारीले आफूलाई वर्तमान प्रधानमन्त्रीसरहको सम्मान गर्दै नेपालको आर्थिक विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता पाएको जानकारी ओलीले दिए ।

साउन २२ गते ल्हासा प्रस्थान गरेका ओलीलाई त्यहाँको सरकारले राजकीय सम्मान दिँदै भोलिपल्ट सिगात्से लगेको थियो । त्यस अवसरमा ओलीको सिगात्से, केरुङ, रसुवागढी, काठमाडौं हुँदै लुम्बिनीसम्म रेल्वे जोड्ने योजना सफल गराउने दृढतालाई अझै बल पुर्‍याउने गरी वार्ता भएको ओलीले जानकारी दिए।

ओलीलाई चिनियाँ पक्षले उनी प्रधानमन्त्री हुँदा भएका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउने कार्य अघि नबढेकोमा गुनासो गरेको थियो। एमाले सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले चिनियाँ पक्षले ती सहमति र सम्झौता कार्यान्वयनबाट बढीभन्दा बढी लाभ लिन आग्रह गरेको जानकारी ओलीले दिएको बताए।

Loading...