काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिक्रिया दिएका छन्।
उनले अहिलेको राजनीतिक घटनाक्रमलाई प्रतिशोधको संज्ञा दिँदै विगतमा राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले मानिसहरूले आफ्नो कुरा ढिलो गरी बुझ्ने गरे बताए।
आफूले विगतमा ओखलढुङ्गामा भएको एक कार्यक्रममै अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुने तर प्रगतिको राजनीति आफ्नो पार्टीले मात्र गर्ने बताएको उनले स्मरण गराएका छन्। ओली र लेखकको पक्राउतर्फ लक्षित गर्दै उनले अब देशमा यस्तै प्रतिशोध मात्र देखिने र लगातार आन्दोलन मात्र हुने दाबी गरेका छन्।
उनले भने, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुङ्गाको कार्यक्रममा भन्या थेँ । अरू जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’
यसै सन्दर्भमा साम्पाङले आन्दोलनमा भएका तोडफोडका घटनालाई पनि कोट्याएका छन्। राज्यको सम्पत्ति नष्ट गर्नेहरूप्रति आक्रोश पोख्दै उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र कैयौँ सरकारी भवन जलाउने तथा भत्काउने कार्यका अगुवाहरूलाई पनि तत्काल पक्राउ गर्नुपर्ने बताएका छन्। त्यस्ता कृत्यमा संलग्नहरूलाई गिरफ्तार गरेर भाटैभाटा लगाउनुपर्ने उनको भनाइ छ।








