काठमाडौँ । प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा पत्रकार श्रेष्ठविरूद्ध जाहेरी दिएकी हुन्।
यसबारे परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्। ‘जाहेरी आएको छ। त्यसभित्रको सबै विवरण हेरिसकेका छैनौं। प्रक्रियामा छ,’ उनले भने। कुन कसुरमा जाहेरी परेको भन्ने उनले खुलाएनन्।
जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशन गरेको भन्दै उपसभामुख ठाकुरले सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन्। उनले प्रेस काउन्सिलमा समेत उजुरी गरेकी थिइन्।
यसअघि सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशबाट पत्रकार श्रेष्ठ हाजिर जमानीमा रिहा भएका थिए।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको थियो।







