२०८२ चैत १३, काठमाडौं। कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा आज चैत १३ गते साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार समर्पण गरिएको छ।
त्यसैगरी वासु शशी स्रष्टा पुरस्कार २०८२ साहित्यकार जयदेव भट्टराई र कृष्ण- सरस्वती साहित्य पुरस्कार २०८२ साहित्यकार हरि मञ्जुश्रीलाई समर्पण गरिएको छ। वासु शशी स्मृति परिषदद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा ती पुरस्कारहरू समर्पण गरिएका हुन्।
वासु शशी साहित्य पुरस्कारको राशि नगद रू. २५,०००/-, वासु शशी स्रष्टा पुरस्कारको राशि नगद रू २१,०००/- तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारको राशि नगद रू २५,०००/- रहेको छ।
परिषद्का अध्यक्ष गीतकार कालीप्रसाद रिजाल सभापति रहेको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गीतकार तथा चलचित्र निर्देशक यादव खरेल रहेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति कवि डा. विष्णुविभु घिमिरे तथा वासु शशी स्मृति परिषद्का सल्लाहकार राधेश्याम लेकाली, कृष्ण- सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशीको उपस्थिति रहेको थियोे।
पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गर्दै वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे। गद्य पद्य दुबैमा उनका थुप्रै कृतिहरू भएको उल्लेख गर्दै उनले वासु शशीका कृतिहरू रि-प्रिन्ट गरी पुन:बजारमा ल्याउनुपर्ने बताए। पुरस्कृत हुने तीनैजना स्रष्टाहरूलाई बधाई दिंदै गीतकार यादव खरेलले वासु शशी स्मृति परिषद्लाई धन्यवाद पनि दिएका थिए।
सभापतिको आसनबाट बोल्दै गीतकार कालीप्रसाद रिजालले वासु शशीको जीवनको अन्तिम घडिको स्मरण गर्दै घण्टौँ गफ गर्नुपर्ने व्यक्ति चूपचाप बस्नु परेको कुरा भावपूर्ण रूपमा व्यक्त गरेका थिए।
वासु शशी ज्यादै भद्र,असल मान्छे भएको बताउँदै उनले आफ्नो मित्रसमेत रहेका वासु शशी प्रबुद्ध व्यक्तित्व भएको र उनका कृतिहरू ज्यादै उत्कृष्ट भएको बताए। वासु शशीबाट प्रेरणा लिएर अरूले पनि सृजना गर्नुपर्ने बताउँदै पुरस्कृत सबैलाई बधाई दिएका थिए। पुरस्कृत स्रष्टाहरुका बारे परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठले ‘रोदन’ले प्रकाश पारेका थिए।
उनले तीनैजना स्रष्टाहरूलाई चिनाइरहनु नपर्ने र नाम नै काफी भएको बताए। कार्यक्रममा स्रष्टा वसन्त चौधरीका बारे बोल्दै रोदनले एउटा उद्योगपति भएर पनि नेपाली भाषा, साहित्य, गीत सङ्गीतका क्षेत्रमा उनको कलम चल्ने गरेको बताए।व्यापारमा नाफा र सृजनामा सन्तुष्टि हेरिने भए पनि उनले नाफा र सन्तुष्टि बीच सन्तुलन राख्न सकेको बताए।
वसन्त चौधरीका २१ थान कृतिहरू रहेको बताउँदै उनका केही कृतिहरू हिन्दी तथा अंग्रेजीमा समेत अनुवाद भइसकेको बताए। वसन्त चौधरी फाउन्डेसन तथा श्री लूनकरणदास-गङ्गादेवी चौधरी साहित्य कला मन्दिरमार्फत उनको साहित्य तथा सङ्गीत क्षेत्रमा ठूलो योगदान रहेको बताए। त्यसैगरी रोदनले जयदेव भट्टराई सकारात्मक सोच राख्ने व्यक्ति भएको र नेपाली भाषा साहित्यमा उनको योगदानको चर्चा गरेका थिए।
उनको शारीरिक कद होचो भए पनि साहित्यिक व्यक्तित्व अग्लो भएको बताए। साथै उनले गोरखापत्रको शनिवार अङ्क मार्फत अग्रज साहित्यकारहरू चिनाउने काम गरेको र उनले नव लेखकहरूलाई प्रोत्साहित गर्ने गरेको बताए।गोरखापत्र संस्थानबाट अवकाश प्राप्त गरे पछि पनि उनको साहित्यिक पत्रकारिता अन्त नभएको भन्दै ‘आरब्ध’ पत्रिकाको चर्चा गर्दै उनका लेखहरू खोजमुलक हुने गरेको बताए।
भट्टराईका सात थान कृतिहरू रहेको उनको भनाइ थियो। त्यसैगरी स्रष्टा हरि मञ्जुश्रीका हालसम्म ३ दर्जन साहित्यिक कृतिसहित १०० बढी सम्पादन कृतिहरू प्रकाशन भइसकेको बताउँदै नेपाली भाषा, साहित्य, सम्पादन तथा पत्रकारितामा उनको ठूलो योगदान रहेको बताए। मन्तव्यको क्रममा उनले शब्दयात्रा प्रकाशनको चर्चासमेत गरेका थिए।
कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले आफ्नो मन्तव्यमा वासु शशी जस्ता साहित्यकारका नाममा स्थापित र कवि कृष्ण जोशीको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाएकोमा आभार प्रकट गरेका थिए। कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए। जोशीले वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि सुरू गरिएको बताउँदै वासु शशी स्रष्टा पुरस्कार भने यसै वर्षदेखि सुरू गरिएको बताए।
परिषद्की संरक्षक श्रीमती जुलुम वैद्यको स्वास्थ्य अस्वस्थका कारण उपस्थित हुन नसकेकाले उनको तर्फबाट दिइएको बधाई सदस्य सचिव प्रद्युम्नले पढेर सुनाए।
कार्यक्रममा कवि तथा नाटककार वासु शशी तथा कवि कृष्ण जोशीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाएर श्रद्धा व्यक्त गरिएको थियोे। कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि ठाकुर बेलवासे गरेका थिए।

वासु शशी साहित्य पुरस्कारबाट यसअगि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभू घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, माेमिला, श्यामल, प्रतिसरा सायमि र विमल वैद्य पुरस्कृत भइसकेका छन्। यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन्।







