कोलम्बो/तेहरान । अमेरिका, इजरायल र इरानबिच चलिरहेको युद्धको आज पाँचौँ दिन श्रीलंकाली तट नजिक एक इरानी युद्धपोतमा पनडुब्बीमार्फत हमला भएको छ ।
श्रीलंकाली नौसेनाका अनुसार जहाजबाट केही शवहरू फेला परेका छन् । यो हमलामा ३२ जना घाइते भएका छन् भने धेरै व्यक्ति बेपत्ता रहेको बताइएको छ ।
घटनापश्चात् समुद्रमा खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। नौसेनाका प्रवक्ताका अनुसार घाइतेहरूलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ ।
सुरुमा नौसेनाले हमलापछि १०१ जना बेपत्ता र ७८ जना घाइते भएको जनाएको थियो । तर पछि प्रवक्ताले पहिले जारी गरिएका ती तथ्याङ्कहरू सही नभएको स्पष्ट पारेका छन्।
इरानमा नयाँ सर्वोच्च नेताको दाबी, इजरायलको चेतावनी
अर्कोतर्फ इरानले पूर्व सर्वोच्च नेता अली खामेनीका छोरा मुज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिसकेको दाबी गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि खामेनीको अन्त्येष्टिपछि मात्र हुनेछ ।
यता, इजरायलका रक्षामन्त्री इजरायल काट्जले अली खामेनीपछि इरानमा जोसुकै नयाँ नेता बने पनि उसलाई समाप्त पारिने चेतावनी दिएका छन् । काट्जले नाम वा स्थानले कुनै फरक नपर्ने, इजरायलले उसलाई खोजेरै पत्ता लगाउने बताएका छन् ।







