श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनुसार यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको छ ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् ।

श्रीलंकाली नौसेनाले दुर्घटनास्थलबाट ३२ जना घाइते नौसैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ । जहाजमा लगभग १८० नौसैनिक सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

यो इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लिट रिभ्यूमा सहभागी भई फर्कँदै थियो ।

श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई बताएअनुसार बुधबार बिहान करिब ६ देखि ७ बजे (भारतीय समय अनुसार) मद्दतका लागि सन्देश पठाइएको थियो ।

जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट करिब ४० समुद्री माइल (लगभग ७५ किलोमिटर) टाढा रहेको बेला यो घटना भएको हो ।