ओलीलाई सत्ता होइन, वृद्धभत्ता

झापा। झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटक्षपूर्ण टिप्पणी गरेका छन्।

तामाङले ७४ वर्षीय ओलीले अब सत्ता मोह त्यागेर विश्राम लिनुपर्ने र ‘वृद्धभत्ता खाएर बस्नुपर्ने’ अभिव्यक्ति दिएका हुन्।

चुनाव प्रचार अभियानका क्रममा झापा–५ अन्तर्गत गौरादह नगरपालिका पुगेका तामाङले जेन–जी (Gen Z) आन्दोलनबाट असान्दर्भिक ठहरिएका नेताहरू पुनः निर्वाचनमा होमिनु विडम्बनापूर्ण रहेको बताए। उनले ओली मात्र होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्राम लिनुपर्ने धारणा राखे।

“जेन–जी आन्दोलनले असान्दर्भिक ठहर गरेका नेताहरू फेरि पनि चुनावमा जानु विडम्बना हो,” तामाङले भने, “अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण हुनुपर्छ।”

तामाङले जेन–जीको नाममा राजनीति गर्न खोज्ने शक्तिहरूले नै जेन–जीका वास्तविक मुद्दा वेवारिसे पारेको आरोप लगाए। साथै, काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छाडेको आरोपसमेत तामाङले लगाए।

यसैबीच, नेकपा गौरादह नगर समितिद्वारा आयोजित भेलाले लेखतबहादुर खड्काको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ।

मुल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतका अनुसार प्रचार–प्रसारलाई तीव्र बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत, गगन पुरी, दिपेनवाला राई, हुकुम सिंहलगायत नेताहरूले शुभकामना मन्तव्य दिएका थिए।