स्वास्थ्य बीमामा दैनिक १० करोड माग, मापदण्ड बिपरित भुक्तानी नदिने बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई मापदण्डअनुसार आवश्यक कागजातसहित मात्र भुक्तानी दाबी प्रविष्ट गर्न आग्रह गरेको छ।

जथाभावी र त्रुटिपूर्ण दाबी बढेपछि बोर्डले स्वास्थ्य संस्थामै पुनरावलोकन समिति गठन गरी दाबी जाँच गर्न निर्देशन दिएको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लले दाबी विवरणमा धेरै त्रुटि देखिने भएकाले दाबी प्रविष्ट गर्नुअघि संस्थाभित्रै पुनरावलोकन अनिवार्य गरिएको बताए।

कार्यविधि अनुसार प्रक्रिया सहज बनाउँदै अस्वीकृत दर घटाउने उद्देश्य रहेको बोर्डले जनाएको छ।

दैनिक करिब १० करोड रुपैयाँ बराबरको दाबी पेस हुने जानकारी दिदै बोर्डले मापदण्ड नपुगेका दाबीको भुक्तानी नहुने चेतावनी दिएको छ । बोर्डले हालसम्म स्वास्थ्य संस्थालाई करिब १२ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको छ।