काठमाडौँ । नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो ।
नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाइन् । त्यस्तै रुविना क्षेत्रीले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोराे अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४० रन बनाएको थियो । स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान गरिन् । त्यस्तै, एल्सा लिस्टरले २२ रन बनाउँदा सारा बिर्सिले १८ रनको योगदान गरिन् ।
बलिङतर्फ नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिन् । त्यस्तै, रुबिना क्षेत्रीले तीन विकेट लिँदा रिया शर्मा, सीता राणा मगर र कविता जोशीले एक एक विकेट लिइन् ।
आजको खेलमा पराजित हुँदै नेपाल विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । प्रतियोगितामा समूह चरणका चारमध्ये तीन खेलमा पराजित हुँदै नेपाल बाहिरिएको हो ।







